काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला महिला) पदमा मुलुककै पहिलो निर्वाचित महिला मेयर कान्तिका सेजुवालले उम्मेदवारी दर्ता गराएकी छन्। असोज १८ गते राजधानीमा उद्घाटन भएको महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आगामी असोज २२ गते मतदान हुँदैछ।
विगत चार दशकदेखि राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय सेजुवालले महिला नेतृत्वको सशक्तीकरण, कर्णालीको प्रभावकारी प्रतिनिधित्व र समावेशी पार्टी निर्माणको संकल्पसहित चुनावी मैदानमा उत्रिएको बताएकी छन्।
२०४२ सालमा नेपाल विद्यार्थी संघ जुम्लाको सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी सेजुवाल २०४८ मा नेपाल शिक्षक संघ जुम्ला र २०५८ मा जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सदस्य रहेकी थिइन्। संगठनभित्र निरन्तर क्रियाशील रहँदै उनले २०७२ सालमा महासमिति सदस्य, २०७८ मा केन्द्रीय सदस्य तथा २०७९ मा प्रतिनिधिसभा सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी छन्। यस्तै, २०८३ सालको विशेष महाधिवेशनबाट समेत उनी केन्द्रीय सदस्यका रूपमा अनुमोदित भएकी थिइन्।
राजनीतिबाहेक सामाजिक क्षेत्रमा पनि लामो अनुभव सँगालेकी सेजुवालले जुम्लामा ‘फोर एस’ तथा नारी कल्याण केन्द्रको स्थापना गर्नुका साथै सुरक्षित मातृत्व, गैरसरकारी संस्था महासंघ (जुम्ला) र महिला मानव अधिकार रक्षक जुम्लाको नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर (एमएड) गरेकी सेजुवालले आफ्नो अनुभव, निष्ठा र कर्णालीको आवाजलाई थप सशक्त बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत दिएर विजयी गराउन अपिल गरेकी छन्।



