नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति गगनकुमार थापा। तस्बिर : रासस
काठमाडौँ- नेपाली कांग्रेसमा पदाधिकारी बन्ने आकांक्षीको संख्या बढेपछि १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या २५ पुर्याउने तयारी भएको छ। आकांक्षीको व्यवस्थापन र पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पद थपिएको नेताहरूको दाबी छ।
एक वर्षअघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढाएको कांग्रेसले यसपटक थप पद सिर्जना गर्न लागेको हो। ५० भन्दा बढी नेता पदाधिकारीका आकांक्षी देखिएपछि नेतृत्वले पद थपेर व्यवस्थापनको बाटो रोजेको नेताहरू बताउँछन्।
सभापतिमा गगन थापा लगभग निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा हुने अवस्था छ। कांग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १४ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने प्रस्ताव छ। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड्दा संख्या २५ पुग्नेछ।
चुनावको मुखमा किन थपियो पद?
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले पदाधिकारीको संख्या बढाउनुको कारणलाई लिएर पार्टीभित्रै प्रश्न उठेको छ।
कांग्रेसमा विगतमा पदाधिकारीको संख्या तुलनात्मक रूपमा सीमित थियो। तर हरेक महाधिवेशनसँगै पद थपिँदै आएका छन्। १३औँ महाधिवेशनसम्म कांग्रेसमा ६ पदाधिकारी थिए। त्यसबेला एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र कोषाध्यक्षको व्यवस्था थियो। त्यसमध्ये केही पद मनोनीत हुने व्यवस्था थियो।
१४औँ महाधिवेशनमा आइपुग्दा पदाधिकारीको संख्या बढेर १३ पुग्यो। एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था गरिएको थियो। प्रवक्तालाई समेत जोड्दा संख्या १४ पुग्थ्यो।
अहिले भने पदाधिकारीको संख्या त्यसको तुलनामा झन्डै दोब्बर हुने भएको छ।
विशेष महाधिवेशन पनि पद थपिने क्रमको एउटा कारण बनेको छ। त्यहाँ सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्याइएको थियो। त्यही विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाले अहिले फेरि पदाधिकारीको संख्या बढाउन लागेका हुन्।
‘भागबन्डाका लागि होइन, कार्यक्षेत्र विस्तारका लागि’
कांग्रेस प्रवक्ता देवराज चालिसे भने पदाधिकारी बढाउनुको कारण आकांक्षी व्यवस्थापन मात्र नभएको बताउँछन्।
‘यसलाई पार्टीको कार्यक्षेत्र विस्तार गरिएको रूपमा बुझ्नुपर्छ। पदीय भागबन्डाका रूपमा मात्र बुझ्नु हुँदैन’, उनले भने।
कांग्रेसभित्रैका केही नेताको बुझाइ भने भिन्न छ। उनीहरूका अनुसार नेतृत्वले धेरै आकांक्षीलाई व्यवस्थापन गर्न पद बढाउने बाटो रोजेको हो।
देउवा समूहबाट आएकाको व्यवस्थापन?
पदाधिकारी थपिनुको अर्को कारण पछिल्लो समय संस्थापन समूहमा जोडिएका नेताहरूको व्यवस्थापन भएको कांग्रेसका नेताहरू बताउँछन्।
लामो समय शेरबहादुर देउवा निकट रहेर राजनीति गरेका केही नेता विशेष महाधिवेशनलाई नै वैधानिक नमान्ने पक्षमा थिए। तर पछिल्लो समय उनीहरू थापा नेतृत्वको समूहमा जोडिएका छन्।
कांग्रेस स्रोतका अनुसार देउवा समूहबाट संस्थापन समूहमा आएका त्यस्ता नेता करिब ६० जना छन्। उनीहरूमध्ये धेरै कुनै न कुनै पदका आकांक्षी छन्। शेखर कोइराला निकट केही नेताहरू पनि अहिले थापा समूहमा छन्।
यसले नेतृत्वलाई सबैलाई समेट्ने दबाब बढाएको नेताहरूको दाबी छ। ‘धेरै नेताहरू पदका आकांक्षी हुनुहुन्छ। एकताको महाधिवेशन भनिएकाले पनि पद बढाउनुपर्ने बाध्यता आएको हो’, कांग्रेसका एक नेता भन्छन्।
सहमहामन्त्री डा. डिला संग्रौलाले पनि नेताहरूको व्यवस्थापनका लागि पद बढाउनुपर्ने बताएकी छन्।
तर कांग्रेस इतरपक्षका नेता धर्मराज शाही भने पछिल्लो गतिविधिले कांग्रेस ‘सुधारिएको कांग्रेस’ बन्नेभन्दा पद केन्द्रित भएको देखिएको बताउँछन्। उनका अनुसार नेतृत्वमा नीति र संगठनभन्दा पदका लागि प्रतिस्पर्धा बढी देखिएको छ।
सबै पदमा भिडन्त, महामन्त्रीमा महाभिडन्त
१५औँ महाधिवेशनमा कांग्रेसका अधिकांश पदमा प्रतिस्पर्धा हुने देखिएको छ। सभापतिमा गगन थापासँग पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। वरिष्ठ उपसभापति पद भने थपिए पनि अहिलेसम्म स्पष्ट आकांक्षी देखिएका छैनन्।
चार उपसभापति पदमा पनि प्रतिस्पर्धा हुने सम्भावना छ।
सबैभन्दा रोचक भिडन्त महामन्त्रीमा हुने देखिएको छ। महामन्त्रीको संख्या बढेपछि आकांक्षी व्यवस्थापन केही सहज भए पनि प्रतिस्पर्धा भने घटेको छैन।
महामन्त्रीका आकांक्षीमा नैनसिंह महर, डा. सुनिल शर्मा, रञ्जित कर्ण, अमरसिंह पुन, उदयशमशेर राणा, आङगेलु शेर्पा, मधु आचार्य, देवराज चालिसे, डा. डिला संग्रौला र डिना उपाध्यायलगायत छन्। विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पनि पद दोहोर्याउने तयारीमा छन्।




