काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ।
काठमाडौँको खुल्लामञ्चमा सुरु महाधिवेशनको पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गरेका छन्। यसअघि सभापति देउवालगायतका नेताहरू निवर्तमान सभापति शेरबहादुर देउवाको हातबाट महाधिवेशन उद्घाटन गराउने बताएका थिए।
तर, निर्वतमान सभापति देउवा महाधिवेशनको उद्घाटन कार्यक्रममा गएनन्। प्रमुख अतिथि बनेर महाधिवेशनको उद्घाटन गर्न संस्थापन पक्षले देउवालाई निम्तो पठाएको थियो। छुट्टै महाधिवेशन प्रक्रिया अगाडि बढाइरहेको निवर्तमान सभापति देउवा उद्घाटन कार्यक्रममा पुगेनन्।
देउवाका साथै मंसिरमा १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवानिकट अन्य नेताहरू पनि खुलामञ्च पुगेका छैनन्।
त्यस्तै निवर्तमान सभापति पूर्णबहादुर खड्का, शेखर कोइरालालगायतका नेताहरू पनि संस्थापन समूहको उद्घाटन कार्यक्रममा पुगेका छैन।
उद्घाटन कार्यक्रममा बिभिन्न दलका नेताहरु समेत सहभागी थिए ।
महाधिवेशनअन्तर्गत असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुने कांग्रेसले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनको उद्घाटनसँगै सोमबारबाट बन्दसत्र पनि काठमाडौँको खुलामञ्चमै हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तय भएको छ।
खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला हल तयार गरिएको छ। प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुने र हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिएको छ।
कांग्रेस निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार अपराह्न २ देखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ।
तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्नेछन्। यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ। वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरेको छ।
त्यस्तै, केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ। कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एक तिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको समेत कांग्रेसले जानकारी दिएको छ।
महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई पनि प्राथमिकता दिइएको कांग्रेसले जनाएको छ।



