नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्बिर
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्।
नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन्।
प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे।
उनले सरकारका गलत नीति-निर्णयका विरुद्ध सदनमार्फत खण्डन-आलोचना गर्ने काम भइरहेको भन्दै विस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए। सडकमा गएर खबरदारी नगरिकन अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ छ।
प्रचण्डले प्राविधिक र तयारी तीव्र नभएका कारण पहिले तय गरिएको मंसिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएकाले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने बताए।
उनले दुई महिने अभियानअन्तर्गत टोल-गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिए।



