काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। आइतबार काठमाडौँको खुलामञ्चमा हुने उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी हुने भएका छन्।
रास्वपा सभापति लामिछाने स्वयं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने र शुभकामना मन्तव्य दिने तयारी छ।
त्यस्तै, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कांग्रेस महाधिवेशनमा सहभागी हुने भएका छन्।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत नेताहरूलाई पनि कांग्रेसले निमन्त्रणा गरेको छ।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। उनको सट्टा एमाले महासचिव शंकर पोखरेल सहभागी भएर शुभकामना दिने भएका छन्।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि महाधिवेशनमा सहभागी नहुने भएका छन्। कांग्रेसले देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो दिएको थियो। तर, निमन्त्रणा दिने तरिकाप्रति देउवाका स्वकीय सचिवले आपत्ति जनाएका थिए।
कांग्रेसका अनुसार महाधिवेशनमा करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन्।



