काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग बुधबार भएको भर्चुअल सम्बोधनमा उनले आन्तरिक एकता थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।
अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताए।
‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,’ उनले भने।
उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले आगामी निर्वाचनमा केन्द्रित भएर संगठन परिचालन गर्न कार्यकर्तालाई आग्रह गरे।
एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे। ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने।
अध्यक्ष ओलीले पार्टीविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले पनि प्रभावकारी उपस्थिति देखाउनुपर्ने बताए।
पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
उनले कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र अनुशासनमा ध्यान दिन निर्देशन दिए।
असोज मसान्तसम्म सदस्यता अभिलेखीकरण
भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए।
उनले पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताए।
महासचिव पोखरेलका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइनेछ।
लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने तथा जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधि सञ्चालन गरिने उनले बताए।
कार्यक्रममा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरूको सहभागिता थियो।



