काठमाडौँ- दुबईबाट तेलअभिभका लागि उडेको फ्लाई दुबईको एक याुत्रवाहक विमानमा उडानकै क्रममा पाइलट र सहपाइलटबीच कुटाकुट भएपछि विमानलाई साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तेलअभिभको बेन गुरियन विमानस्थलका लागिग उडेको फ्लाई दुबईको उडान नम्बर एफजे १०७३ मा यो घटना भएको हो।
करिब १५० देखि १८० जना यात्रु (अधिकांश इजरायली नागरिक) सवार रहेको यो विमानमा उडानका क्रममा चालक दलका दुई सदस्यबीच तीव्र विवादपछि हातापाई भएको थियो।
उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट रडार२४’ का अनुसार उडान भरेको करिब दुई घण्टापछि विमानबाट पहिलोपटक सामान्य आपत्कालीन संकेत मानिने ‘स्क्वाड कोड ७७००’ पठाइएको थियो।
तर, त्यसको केही मिनेटभित्रै विमानबाट गैरकानुनी हस्तक्षेपा वा विमान अपहरण भएको संकेत गर्ने कोड ‘७५००’ जारी भएपछि पश्चिम एसियाको सुरक्षा निकायमा तीव्र हलचल पैदा भयो।
साउदी अरबको आकाशमा पुगेपछि विमान अचानक अनियन्त्रित जस्तै बनी दुई मिनेटभन्दा पनि कम समयमा १७ हजार फिटभन्दा बढी तल झरेको थियो।
केही समय जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरी पुनः साउदी अरबतर्फ मोडिएको उक्त विमानलाई अन्ततः उत्तर–पूर्वी साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित रुपमा अवतरण गराइएको बीबीसीले जनाएको छ।
विमान अपरहणको आशंका र आकस्मिक अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्ना लडाकु र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको थियो।
समचार एजेन्सी रोयटर्सका अनुसार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले सुरक्षा अधिकारीसँग आकस्मिक बैठक गरेका थिए भने सेनाप्रमुख अयाल जमिरले वायुसेना कमाण्डरहरुसँग स्थितिबारे समीक्षा गरेका थिए।
इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबी तथा वरिष्ठ विश्लेषकहरुले यो घटनाले पश्चिम एसियाभरि ठूलो सुरक्षा तनाव सिर्जना गरेको तर स्थिति बिग्रिन नपाएकोमा राहत व्यक्त गरेका छन्। यद्यपि इजरायली प्रधानमन्त्री कार्यालयले पछि यो घटना अपहरण नभएको स्पष्ट पारेको छ।
एक इजरायली अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार पाइलटबीच हातहालाहाल भएपछि दुवैले पालैपालो आपत्कालीन संकेत पठाएका थिए। तर, कुन पाइलटले कुन नियतले अपहरणको संकेत पठाएको थिए भन्नेबारे थप अनुसन्धान भइरहेको छ।
घटनापछि फ्लाईदुबईले उडानका क्रममा एक प्राविधिक एवं आन्तरिक घटना घटेको पुष्टि गर्दै सम्बन्धित निकायहरुसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ।
दुबई-तेल अभिभमार्ग इजरायली यात्रुका लागि निकै व्यस्त र लोकप्रिय मानिन्छ।



