काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापार मन्त्री थानी बिन अहमद अल जेयुदी औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदैछन्। मन्त्री जेयुदी आजै अबेर राति काठमाडौँ आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ।
यद्यपि प्रधानमन्त्रीसँगको भेटको अझै पुष्टि हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
काठमाडौँ भ्रमणका क्रममा मन्त्री जयुदीको साथमा अन्य कुन अधिकारीहरु आउन लागेका छन् भन्ने स्पष्ट भइसकेको छैन।
आफ्नो नियुक्तियता जेयुदी यूएईको आर्थिक पहुँच विस्तारको अग्रपंक्तिमा रहँदै आएका छन्। उनले व्यापारिक प्रतिनिधिमण्डको नेतृत्व गर्दै आर्थिक समझदारीका लागि वार्ताका साथै विश्वका नेताहरूसँग संवाद गर्दै आएका छन्।
यद्यपि उनको काठमाडौँ भ्रमणको एजेन्डा सार्वजनिक गरिएको छैन। यूएईमा सात लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। त्यस्तै यूएई खाडी क्षेत्रमा नेपालको प्रमुख साझेदारमध्ये एक रहेको छ। गत आर्थिक वर्षमा यूएई नेपालका लागि पाँचौँ ठूलो आयात बजार रहेको थियो। त्यो आर्थिक वर्षमा यूएईबाट २५ अर्ब ३३ करोड आयात भएको थियो भने ३ अर्ब १ करोड मूल्य बराबारको निर्यात भएको थियो।
आज राति करिब साढे ११ बजे काठमाडौँ आइपुग्ने मन्त्री जेयुदीले बिहीबार पूरा दिन बैठकहरूमा व्यस्त रहनेछन्।
त्यस्तै शुक्रबार पनि उनको भेटवार्ता र बैठकका कार्यक्रमहरू तय भएका छन्। मन्त्री जेयुदी शुक्रबार पनि भेटवार्ताहरूमा सहभागी हुनेछन्। उनको शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।




