राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल

हिमाल प्रेस १४ असोज २०८३ ११:०२ | Wednesday, September 30, 2026
4
SHARES
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधन विभिन्न दृष्टिकोणबाट ऐतिहासिक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालका महत्वपूर्ण मुद्दातर्फ आकर्षित गरेको बताए।

देशमा विकसित नयाँ राजनीतिक परिस्थिति तथा भोटेकोशीमा आएको त्रासदीपूर्ण बाढीलाई ‘हिमाली सुनामी’ का रूपमा व्यहोर्नुपरेको विषम परिस्थितिका बीच नेपालले यसपटक संयुक्त राष्ट्रसंघमा फरक र सशक्त उपस्थिति जनाएको उनले बताए।

‘प्रधानमन्त्रीको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक रह्यो,’ मन्त्री खनालले भने,‘उहाँले उठाउनुभएको जलवायु न्यायको मुद्दा, नेपाली राष्ट्रिय हितका विभिन्न पक्ष र अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्व मञ्चको गम्भीर ध्यानाकर्षण गराएको छ।’

उनले प्रधानमन्त्रीको सम्बोधन नेपालले जलवायु न्याय हासिल गर्ने दिशामा महत्वपूर्ण कदम हुने बताए।

भ्रमणका क्रममा महासभासहित विभिन्न उच्चस्तरीय सत्र तथा द्विपक्षीय भेटवार्ता उपलब्धिमूलक रहेको मन्त्री खनालले जानकारी दिए।

जलवायुजन्य विपद्पछिको पुनर्निर्माणका लागि ठूलो लगानी र स्रोतसाधन आवश्यक पर्ने भएकाले अन्तर्राष्ट्रिय साझेदार तथा समुदायसँग थप सहयोग र सहकार्यका लागि आह्वान गरिएको उनले बताए।

नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम तथा विपद्को सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र साझेदारीलाई थप बलियो बनाउनुपर्ने विषयलाई समेत भ्रमणका क्रममा प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast