‘वामआन्दोलनलाई बलियो बनाउने चाहना छ’

हिमाल प्रेस १३ असोज २०८३ २०:३० | Tuesday, September 29, 2026
6
SHARES
‘वामआन्दोलनलाई बलियो बनाउने चाहना छ’

काठमाडौँ- नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताएकी छन्।

मंगलबार रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले एमालेले आफूलाई दिएको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताइन्।

एमालेले यही असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो।

बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन्।

उनले विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखिन्।

विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वामआन्दोलनमा असर परेको उल्लेख गर्दै उनले २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको बताइन्।

‘नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमीकमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

पूर्वराष्ट्रपतिसमेत रहनुभएकी नेता भण्डारीले जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिइन्।

मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्दै उनले पार्टी, जिल्ला र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर एकता कायम गर्नुपर्ने धारणा राखिन्।

उनले एउटा निर्वाचनको परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने धारणा राखिन्।

पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै भण्डारीले पुस्ताबीचको दूरी अन्त्य गरी सबै पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताइन्।

शान्तिपूर्ण परिवर्तनका लागि लामो र निरन्तर यात्रा आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: १३ असोज २०८३ २०:३० | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast