काठमाडौँ- नेपाली कांग्रेसमा समानान्तर रूपमा अघि बढिरहेका दुई महाधिवेशनबीच सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले एकताको सम्भावना अझै जीवित रहेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गराएर सम्मानपूर्वक बिदा गर्न तयार रहेको उनको भनाइले कांग्रेसभित्र लामो समयदेखि चलिरहेको विवाद समाधानका लागि संवादको सम्भावना फेरि चर्चामा ल्याएको छ।
बलायर देउवा निकटस्थ नेता एवं देउवाकै गृह प्रदेशका बासिन्दा हुन्। बलायरले दुई समूहको मिलनबिन्दु रहेको बताएपछि कार्यकर्तामा सकारात्मक सञ्चार प्रवाह भएको छ। नेताहरू बलायरको बोलीले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउँछन्। सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्दै देउवाले कांग्रेस र देशको नेतृत्व गरे। अहिले उनै देउवाबिना कांग्रेस अघि बढेको छ। यसको प्रभाव गत फागुन २१ गतेको चुनावमा परेको थियो भने आगामी दिनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ।
बलायरको प्रस्ताव आए पनि कांग्रेसका दुवै पक्ष आआफ्नो महाधिवेशनको तयारीबाट पछि हटेका छैनन्। सभापति गगन थापा नेतृत्वको पक्षले असोज १८ देखि महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने देउवा पक्षले मंसिर २१-२३ का लागि समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाएको छ
यही कारण पनि बलायरको भनाइलाई कार्यकर्ताले उत्साहका रूपमा लिँदै पार्टी एकताको कुरा उठाएका छन्। कांग्रेसभित्रको रडाको सुल्झन बलायरले भनेजस्तो सहजचाहिँ देखिँदैन। गगन थापा नेतृत्वको कांग्रेस संस्थापन र देउवा नेतृत्वको इतरपक्षले छुट्टाछुट्टै महाधिवेशन तोकेका छन्। थापा नेतृत्वको महाधिवेशन असोज १८ देखि सुरु हुँदै छ भने देउवा नेतृत्वको महाधिवेशन मंसिर २१ देखि तोकिएको छ।
संस्थापन कांग्रेसमा महाधिवेशनको तयारीस्वरूप धेरै प्रक्रिया अघि बढिसकेको छ। स्थानीय (वडा र पालिका) अधिवेशन सकिएको छ। धेरै ठाउँमा महाधिवेशन प्रतिनिधि पनि चुनिएका छन्। कांग्रेसमा माथिल्लो स्तरमा कुनै पदमा लड्न महाधिवेशन प्रतिनिधि बन्नुपर्छ।
देउवा पक्ष अहिले सदस्यता नवीकरण प्रक्रियामा छ। इतर खेमाले निर्वाचन मापदण्ड बनाउँदै गरेको छ। दुईतिरको भिन्नताले पनि एकता तत्काल सम्भव नभएको नेताहरूको टिप्पणी छ। कांग्रेस अहिले प्राविधिक (कानुनी) रूपमा एक देखिए पनि व्यवहारमा दुई खेमामा विभाजित छ।
विशेष महाधिवेशनबाट चुनिएको दलबलसहित थापा संस्थापन हाँकिरहेका छन् भने इतरपक्ष पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा छ। यति मात्र होइन, कांग्रेसमा विधान पनि दुई किसिमकै लागू भएको छ। संस्थापन खेमाले गत पुसमा विशेष महाधिवेशनबाट परिमार्जित विधानअनुसार चलेको छ भने इतरपक्ष १४ औँ (२०७७) को विधान प्रयोग गरिरहेको छ।
‘यही अवस्थामा तत्काल एकता हुने सम्भवना कम देखिन्छ। महाधिवेशन दुईवटै हुन्छन् भन्ने लाग्छ,’ कांग्रेस संस्थापन पक्षका नेता एवं प्रवक्ता देवराज चालिसे भन्छन्, ‘राजनीति हो भन्न सकिन्न तर अहिलै त्यस्तो देखिएन।’
संस्थापन पक्ष एकताभन्दा महाधिवेशनतिर अघि बढेको छ। केन्द्रीय स्तरका नेतासमेत भूगोलमा पुगेकाले तत्काल राजनीतिक संवाद सम्भव नरहेको बताइरहेका छन्। नेता बलायरले देउवाले महाधिवेशनमा सहभागी हुँदैमा एकता हुन्छ भने पनि अन्य नेताहरू मान्न तयार छैनन्। ‘धेरै कुरा आएका छन् तर ती सामाजिक सञ्जाल र मिडियाबाटै आएका हुन्। वास्तविकता के हो भन्ने त सबैलाई थाहा छ,’ इतरपक्षका नेता डा. प्रकाशशरण महतले हिमालप्रेससँग भने, ‘संस्थापनबाट प्रयत्न भएन। महाधिवेशन स्थगन गर्नुहोस् अनि सहमति गरौँ भन्दा मान्नुभएन। अब त धेरै अघि बढिसक्यो।’
इतरपक्षले थापालाई महाधिवेशन स्थगित गरेर ‘राजनीतिक निकास’ निकाल्न प्रस्ताव गरेको थियो। इतरपक्षले राजनीतिक सहमति गरेर अदालती झन्झटसमेत हटाएर अघि बढ्न पनि अनुरोध गरेको थियो। तर संस्थापन पक्षले ‘महाधिवेशन सर्न नसक्ने’ बतायो। सभापति थापाले विशेष महाधिवेशनबाट लामो समय चल्न नहुने भएकाले नियमित अधिवेशन चाहेका दाबी गरे।
के कारण विभाजित हुँदै छ कांग्रेस?
देउवा पक्षका नेता बलायरले भनेका छन्, ‘हामी विशेष महाधिवेशन चाहँदैनथ्यौँ। नियमित महाधिवेशनमा जाऔँ भन्दा कुरा मिलेन।’ जेनजी आन्दोलनपछि कांग्रेसमा महाधिवेशनको दबाब बढ्यो। तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नेतृत्व फेरेर चुनाव जानुपर्ने मत राखे भने देउवा पक्ष विशेष महाधिवेशनमा जान नहुनेमा थियो। दुई महामन्त्रीकै अगुवाइमा २०८२ पुस अन्तितमा भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाइयो। पुराना महाधिवेशन प्रतिनिधिको बाक्लो उपस्थितिले गगनलाई सभापति चुन्यो भने देउवा पक्षले महाधिवेशनमा भागै लिएन। यही कारण कांग्रेस दुई खेमामा विभाजित भयो। त्यसपछि पनि कांग्रेसमा एकै तवरले अघि बढ्न विभिन्न छलफल भए तर निकास निस्किएन।
अहिले दुई खेममा विभाजित हुँदै दुई पार्टी बन्ने प्रक्रियामा छन्। नेताहरूसमेत तत्काल कांग्रेसको एकता सम्भव नरहेको बताउँछन्। ‘कांग्रेस अहिलेलाई दुईवटै हुने देखियो। तर अदालतको फैसलापछि फेरि एउटै हुन्छ भन्ने लाग्छ’, कांग्रेसका नेता केदार कार्की भन्छन्। अहिले देउवा पक्षले अदालतमा मुद्दा दायर गरेको छ।
कानुनी प्रक्रिया टुंग्याउँदै थापा पक्षले आधिकारिकता पाए पनि अदालतले मुद्दा दायरका लागि ‘निस्सा’ दिएपछि देउवा पक्ष हौसिएको छ। इतर पक्षका नेताहरू आफूहरूले नै आधिकारिकता पाउनेमा ढुक्क देखिन्छन्।
कांग्रेसमा दुवै पक्षका नेताहरू पार्टी विभाजन हुन नहुने तर्क गर्छन्। नेताहरू पार्टी विभाजनको भारी बोक्न भन्दा निष्कृय हुने तरखरमा छन्। कतिपय नेताहरू अहिले पनि दुई पक्ष मिलाउने प्रयत्नमा छन्। नेताहरूले एकता भन्दाभन्दै पनि पार्टी विभाजनको डिलमा पुगेको छ।
विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विभाजित हुने पक्काजस्तै रहेको बताउँछन्। उनका अनुसार कांग्रेस विभाजन हुनमा कांग्रेसको मात्र नभई अन्य शक्तिको पनि हात छ। ‘धेरै कुराको प्रमाण त छैन। तर कांग्रेस विभाजनमा कांग्रेसकै मात्र हातचाहिँ छैन,’ उनी थप्छन्, ‘सेना, रास्वपाभित्रको शक्तिसमेतको जोडबलमा कांग्रेस विभाजन हुन खोजेको देखिन्छ।’
राजनीतिक विश्लेषक डा. विष्णु दाहाल देउवा पक्षले थापा पक्षलाई नमान्ने कारण कांग्रेस विभाजनमा पुगेको बताउँछन्। ‘पुराना कांग्रेसीले गगनलाई पत्याउँदैन। जेनजी पुस्ताले पनि गगनलाई नपत्याएजस्तो देखिन्छ,’ डा. दाहाल थप्छन्, ‘नियमित महाधिवेशनबाट नेतृत्व लिन असम्भव देखिएपछि गगन विशेषमार्फत आए। अब त कांग्रेस दुई पक्षमा विभाजित छ। यो फुट्छ।’
दाहाल अब भने अदालतले देउवा पक्षलाई आधिकारिता दिने तर्क गर्छन्। ‘देउवा त्यसै नेपाल फर्केका छैनन्। उनी खुसी हुनुको कारण पनि आधिकारिकता पाउनेमा ढुक्क छन्।’




