रोजगारी, उद्यम र उत्पादनलाई प्राथमिकतामा राख्दै कांग्रेस केन्द्रीय सदस्यमा जितेन्द्र विक्रम शाहीको उम्मेदवारी

हिमाल प्रेस १३ असोज २०८३ १३:५९ | Tuesday, September 29, 2026
8
SHARES
रोजगारी, उद्यम र उत्पादनलाई प्राथमिकतामा राख्दै  कांग्रेस केन्द्रीय सदस्यमा जितेन्द्र विक्रम शाहीको उम्मेदवारी

नर्वे- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन्। प्रवासमा लामो समयदेखि कांग्रेसको संगठन निर्माण र सामाजिक गतिविधिमा सक्रिय शाहीले पहिलोपटक केन्द्रीय सदस्यका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

नर्वेमा तीन कार्यकाल नेपाली जनसम्पर्क समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका शाहीले पार्टीलाई उत्पादन, रोजगारी र उद्यमसँग जोडेर अघि बढाउनुपर्ने धारणा अघि सारेका छन्। उनले आफ्नो उम्मेदवारीसँगै ‘अबको कांग्रेस उत्पादन, रोजगारी र समृद्धिको कांग्रेस’ भन्ने अवधारणा सार्वजनिक गरेका छन्।

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका शाहीले नेपालमा रहँदा प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कर्मचारी संघको नेतृत्वसमेत गरेका थिए। डोटीबाट प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम यसअघि पनि सिफारिस भएको थियो।

नर्वेमा लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा समेत सक्रिय शाहीले राजनीतिक गतिविधिसँगै अनुसन्धान र समाजसेवामा पनि काम गर्दै आएका छन्। नेपाली जनसम्पर्क समिति नर्वेका उपाध्यक्ष रमेश घिमिरेका अनुसार शाही नर्वे तथा युरोपमा रहेका नेपालीको समस्या समाधान र सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। कोभिड-१९ संक्रमणका बेला जोखिम मोलेर नेपाली समुदायको सेवामा खटिएको घिमिरेले बताए।

उम्मेदवारी घोषणा गर्दै शाहीले कांग्रेसलाई राजनीतिक गतिविधिमा सीमित नराखी जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोड्नुपर्ने बताएका छन्। उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यम प्रवद्र्धनलाई पार्टीको राजनीतिक एजेन्डासँग जोड्नुपर्ने धारणा राखेका छन्।

‘पार्टीलाई चलायमान बनाउने हो भने अब हामीले नेपाली कांग्रेसलाई राजनीतिक गतिविधिमा मात्र सीमित राख्नु हुन्न। उत्पादन, रोजगारी, उद्यम र जनताको दैनिक जीवनसँग प्रत्यक्षरूपमा जोड्नुपर्छ,’ शाहीले भने।

उनले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। कृषि उत्पादन बढाउन प्रविधि, सिँचाइ, भण्डारण, प्रशोधन, बजार व्यवस्थापन र किसानले उचित मूल्य पाउने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ। युवालाई आधुनिक कृषि, कृषि उद्यम र नयाँ प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनले बताएका छन्।

शाहीले कृषि र पर्यटनलाई आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउन सकिने धारणा राखेका छन्। नेपालको प्राकृतिक स्रोतसँगै मौलिक संस्कृति, भाषा, कला, लोकगीत, लोकनृत्य, पर्व र परम्परालाई पर्यटनसँग जोडेर स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनले बताएका छन्।

‘हिमाल, पहाड, नदी, वन्यजन्तु र जैविक विविधतासँगै नेपालका मौलिक संस्कृति, भाषा, कला, लोकगीत, लोकनृत्य, पर्व र परम्परालाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हो भने अबको नयाँ पुस्तालाई स्वदेशमै रोक्न सकिन्छ,’ उनले भने।

प्रवासी नेपालीलाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउनुपर्ने विषयलाई पनि शाहीले आफ्नो अभियानमा प्राथमिकता दिएका छन्। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको उत्पादन र रोजगारीसँग जोड्नुपर्ने उनको प्रस्ताव छ।

प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा नहेरी कृषि, पर्यटन, प्रविधि, उद्योग तथा उद्यममा लगानी र ज्ञान हस्तान्तरण गर्ने साझेदारका रूपमा विकास गर्नुपर्ने शाहीको भनाइ छ। नर्वेमा जनसम्पर्क समितिको नेतृत्व गर्दा उनले संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएको बताइएको छ।

शाहीले कांग्रेसको राजनीति जनताको आधारभूत आवश्यकता र जीवनस्तरसँग प्रत्यक्ष जोडिनुपर्ने बताएका छन्। गास, बास र कपाससँगै स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई राजनीतिक प्राथमिकताको केन्द्रमा राख्नुपर्ने उनको धारणा छ।

‘कांग्रेसलाई उत्पादनमुखी, रोजगारमुखी, उद्यमशील, प्रकृति संरक्षणमुखी, संस्कृति प्रवद्र्धनमुखी र युवामैत्री संगठनका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने।

आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रयासमा मात्र सीमित नराखी पार्टीको आर्थिक तथा संगठनात्मक सोचमा नयाँ बहस अघि बढाउने प्रयासका रूपमा प्रस्तुत गरेका शाहीले प्रवासमा रहेका नेपालीको अनुभव, सीप र पूँजीलाई स्वदेशको उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने बताएका छन्।

‘यो उम्मेदवारी केवल एउटा पदका लागि होइन, कांग्रेसको राजनीतिक सोचलाई उत्पादन, रोजगारी, उद्यम, प्रकृति, संस्कृति र आर्थिक समृद्धिसँग अझ गहिरो रूपमा जोड्ने एउटा विचारका लागि हो,’ शाहीले आफ्नो अपिलमा भनेका छन्।

प्रकाशित: १३ असोज २०८३ १३:५९ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast