ताप्लेजुङ- कर्मचारी मिलन केन्द्र ताप्लेजुङले देशभरका कर्मचारी मिलन केन्द्रलाई प्रसिद्ध धार्मिकस्थल पाथीभराको टीकाप्रसाद पठाएको छ।
पाथीभरा मन्दिरको दर्शनको निम्तोसहित देशभरका कर्मचारी मिलन केन्द्रमा टीकाप्रसाद पठाइएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए।
उनका अनुसार पाथीभराको प्रवर्द्धनसँगै सबै जिल्लाका कर्मचारीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रसाद पठाइएको हो।
पाथीभराको प्रसाद जिल्ला हुलाक कार्यालय ताप्लेजुङमार्फत सम्बन्धित जिल्लामा पठाइएको हो। हुलाक कार्यालयले सुरक्षित रूपमा सामग्री सम्बन्धित व्यक्तिसम्म पुर्याउने गरी ढुवानी सेवा सञ्चालन गर्दै आएको छ।
पाथीभरा क्षेत्र विकास समितिले यसअघि जिल्ला हुलाक कार्यालयसँग देश तथा विदेशमा पाथीभराको प्रसाद पठाउने गरी सम्झौता गरेको थियो। सोहीअनुसार हुलाकमार्फत पाथीभराको प्रसाद विभिन्न स्थानमा पठाउन सकिने व्यवस्था गरिएको छ।
पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि प्रसाद नि:शुल्क उपलब्ध गराउँदै आएको छ। पछिल्लो समय पाथीभराको प्रसाद देश तथा विदेशमा पठाउने क्रमसमेत बढ्दै गएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।



