काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सार्ने तयारी भएको छ।
पछिल्लो चार दिन परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै कांग्रेसले महाधिवेशन सार्ने तयारी थालेको हो।
प्रवक्ता देवराज चालिसेले निर्णय नै नभए पनि वर्षापछि गएको बाढी पहिरोलगायतका कारणले महाधिवेशन सार्ने सम्भावना देखिएको बताए।
‘बाढीपहिरोका कारण धेरै ठाउँका जनजीवन प्रभावित बनेको छ। कतिपय ठाउँमा नगर अधिवेशन पनि सकिन सकेका छैनन्,’ उनले भने,‘बाटोघाटो पनि अवरुद्ध भएका छन्, १६ गते हुने महाधिवेशनका लागि त्यसअगावै प्रतिनिधिहरू आइपुग्नुपर्ने भयो, यसमा अप्ठ्यारा देखिएका छन्। त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ।’
प्रवक्ता चालिसेले मंगलबार बिहान बैठक बसेर महाधिवेशन केही पर सार्ने विषयमा निर्णय हुन सक्ने बताए। यद्यपि महाधिवेशन सार्ने निर्णय गर्दा कानुनी अड्चनको सम्भावना पनि देखिएको उनको भनाइ छ।
आधिकारिकतासम्बन्धी विवादमा पार्टीको तर्फबाट सर्वोच्च अदालतमा धारणा प्रस्तुत गर्दा असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कांग्रेसले उल्लेख गरेको थियो। महाधिवेशनको मिति नै तोकेर सर्वोच्चमा धारणा प्रस्तुत गरेकोले कानुन अड्चन आउनसक्ने विषयमा समेत छलफल हुने चालिसेले बताए।
‘आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चमा धारणा पेस गर्दा हामीले असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने भनेर भनेका छौँ,’ उनले भने,‘मिति नै तोकेर भनिसकेपछि अहिले सार्ने निर्णय गर्दा केही कानुनी अड्चन पो हुन्छ कि भन्ने विषयमा पनि छलफल गर्नुपर्ने हुन्छ। मंगलबार यी सबै विषयमा अन्तिम निर्णय हुन्छ।’



