कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी

हिमाल प्रेस १२ असोज २०८३ १८:५५ | Monday, September 28, 2026
10
SHARES
कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी

काठमाडौँ- नेपालमा राजनीतिक दलहरुको इतिहासमै पहिलोपटक नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमार्फत देशभरी झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन्।

पार्टीको नयाँ व्यवस्थाअनुसार ३५ वर्ष मुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए।

उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलोपटक भएको दाबी समेत गरेका छन्।

नयाँ विधानमा हरेक वडाबाट ३५ वर्ष मुनिका एक महिलासहित कम्तीमा तीन युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन्।

तर हरेक वडामा क्रियाशिल सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यो अनुसार औसतमा ५ जना निर्वाचत हुन्छन् भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ बर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन्।

त्यसैगरी हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन्।

त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरुमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन्।

यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी लिएका छन्।

ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धीहरु रहेकाले कांग्रेसको अधिवेशनमा झन्डै एक लाख युवाले महाधिवेशनमा प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जनाएका छन्।

तीनै क्षेत्रीय प्रतिनिधिहरुबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ती जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुँदैछन्।

त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए।

नयाँ विधानअनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि हुने छन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्।

केन्द्रीय कार्यसमितिमा पनि पहिलोपटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन्।

पार्टीमा यती ठूलो संख्यामा युवाहरुले पदीय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेकोले कांग्रेसको संगठनमा युवाको दवदवा ह्वत्तै बढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए। कांग्रेस अब पुरै युवामय पार्टी भइसकेको उनको भनाइ छ।

प्रकाशित: १२ असोज २०८३ १८:५५ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast