‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न

हिमाल प्रेस ११ असोज २०८३ १७:३० | Sunday, September 27, 2026
2
SHARE
‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न

काठमाडौँ- ‘नेपाल कलिङ’ मुख्य नारासहित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको ‘नाट्टा सम्पदा दौड २०८३’सम्पन्न भएको छ। ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित दौड पर्यटन, स्वास्थ्य, सम्पदा संरक्षण तथा सामुदायिक सहभागितालाई जोड्दै सम्पन्न भएको हो।

काठमाडौँ र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन गतिविधिसँग जोड्ने सन्देश दिएको आयोजकले जनाएको छ।

नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रम नाट्टा कार्यसमिति सदस्य नबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो।

६ किलोमिटर लामो दौड काठमाडौं दरबार स्क्वायरबाट सुरु भई रत्नपार्क, शहीदगेट, रंगशाला, थापाथली, साझा पेट्रोल पम्प तथा लबिम मल हुँदै पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।

काठमाडौँ र ललितपुरका महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई एउटै दौडमार्फत जोडिएको यस कार्यक्रमले सहभागीलाई सम्पदासँग प्रत्यक्ष जोडिँदै पर्यटन अनुभव गर्ने अवसर प्रदान गरेको अध्यक्ष भरतजंग पाण्डेले बताए।

पर्यटन व्यवसायी, युवा, विभिन्न संघसंस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

नाट्टा सम्पदा दौड २०८३ को पुरुषतर्फ रविन्द्र रावत प्रथम भएका छन्। सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय भएका छन्। महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय भएकी छन्।

आयोजक नाट्टाले प्रायोजकको सहयोगले कार्यक्रमलाई थप ऊर्जाशील र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ।

त्यस्तै, कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष कृष्णलाल महर्जनसहितको टोलीले सहयोग गरेको थियो।

सहभागीका लागि आवश्यक आतिथ्य तथा अन्य व्यवस्थापनमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको नाट्टाले जनाएको छ। कार्यक्रममा फ्रन्टलाइन अस्पतालले स्वास्थ्य साझेदारका रूपमा सहयोग गरेको थियो।

नाट्टाका अनुसार नाट्टा सम्पदा दौड केवल दौड प्रतियोगितामा सीमित नभई स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षण, सामुदायिक सहभागिता र एकताको साझा उत्सवका रूपमा सम्पन्न भएको हो।

काठमाडौँ दरबार स्क्वायरदेखि पाटन दरबार स्क्वायरसम्मको दौडले काठमाडौँ उपत्यकाका दुई महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई पर्यटन गतिविधिमार्फत जोड्ने प्रयास गरेको छ।

प्रकाशित: ११ असोज २०८३ १७:३० | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast