पितृपक्ष : पुर्खा, परम्परा र आत्माको खोज

प्रा. दिवाकर प्रधान ११ असोज २०८३ ९:४८ | Sunday, September 27, 2026
4
SHARES
पितृपक्ष : पुर्खा, परम्परा र आत्माको खोज

‘महाभारत’मा कर्णको कथा छ। अतिरथी दानवीर कर्ण युद्धमा वीरगति पाएपछि स्वर्ग पुगे। त्यहाँ स्वर्गपति इन्द्रदेवले हीरा-मोती–सुन-चाँदी पुऱ्याइदिए। धातु खानु भएन। भोकाएर कर्ण इन्द्रकहाँ पुगे। इन्द्रले भने- ‘जिउँदो हुँदा पुर्खाको नाममा दान गर्दा जे दियौ त्यही पायौ । बुझकी कर्णले फेरि पितृपक्षमा अन्न र जल दान गरे।तब स्वर्गमा उनलाई भोजनको दु:ख भएन।

 – यस नीतिकथाले पुर्खालाई नबिर्सने र दानमा मन दिने ज्ञान दिएको छ।

पितृपक्षमा पुर्खालाई श्रद्धाले श्राद्ध गरिन्छ। जुन पूर्वजहरूका कारणले हामी आज अस्तित्वमा छौँ, उनीहरूकै गुण तथा कौशल आदि हामीले धरोहरका रूपमा प्राप्त गरेका छौँ। तिरेर नतिरिने भए पनि सन्तानले बोकेका पितृऋण पुर्खालाई पुजेर तिरेको आत्मतोष अनुभव गर्ने गरिन्छ। शरीरमा नरहेका पूर्वज देवस्वरूप हुनाले पूजनीय छन्। आफ्ना पूर्वजलाई श्राद्ध गर्ने क्रममा जन्मदाता दिवङ्गत माता-पिताबाहेक आमापट्टिका र बाबुपट्टिका पूर्खा मात्र नभई सासु-ससुरा, आचार्य-आचार्या (गुरु-गुरुआमा), आचार्याणी (गुरुपत्नी), मित्र तथा परिजनसम्म मृत्यु-उपरान्त विस्मृत नहोऊन् भनेर श्राद्ध गर्ने विधान बनाइएका छन्। भाद्रपद पूर्णिमा अर्थात् भदौरे पूर्णेदेखि आश्विन कृष्णपक्ष अमावस्या असोजे औँसी (जमरे औँसी)-सम्म सोह्र दिनलाई पितृपक्ष भनिन्छ।

पितृपक्ष अर्थात् सोह्र श्राद्ध दिवङ्गत पितृहरूको स्मरण र तर्पण गर्ने धार्मिक परम्परा मात्र होइन, यो आफ्नो आत्मपरिचय र वंशपरम्पराको बोध गराउने सांस्कृतिक अनुष्ठान पनि हो। यसले व्यक्तिलाई आफ्नो पुर्खा, पारिवारिक इतिहास, सांस्कृतिक धरोहर र पिँढ्यान्तरण हुँदै आएको जीवनमूल्यसँग जोड्दै आफ्नो अस्तित्वको ऐतिहासिक आधारबारे सचेत गराउँछ।

पितृतर्पणमा प्रयोग गरिने सामग्रीहरूको आध्यात्मिक तथा प्रतीकात्मक महत्त्व छ। जलले जीवनको निरन्तरता र शुद्धता, तिलले पवित्रता तथा पापक्षय, कुशले पवित्रता र आध्यात्मिक संरक्षण, पिण्डले पोषण तथा पुर्खाहरूसँगको आत्मीय सम्बन्ध, अक्षतले पूर्णता र समृद्धि, पुष्पले श्रद्धा र सम्मान तथा चन्दनले शीतलता र शान्तिको प्रतीकात्मक अर्थ दिन्छन्। त्यस्तै, दीपले ज्ञान र चेतना, धूपले सुगन्धित स्मृति तथा वातावरणको पवित्रता र दक्षिणाले कृतज्ञता एवं दानशीलताको भाव व्यक्त गर्छन्। यी सबै सामग्रीको समष्टिगत प्रयोगले जीवित सन्तति र दिवङ्गत पुर्खाहरूबीचको आध्यात्मिक सम्बन्ध, वंशपरम्पराको निरन्तरता र पुर्खाहरूप्रतिको कृतज्ञतालाई अभिव्यक्त गर्दछ।

संस्कृत शब्द पुरुषबाट बनेको पुर्खा शब्दले प्राचीनता बोध गर्दछ-बाबुबाजे, जिज्यू, परजिज्यूहरू गर्दै-गर्दै पुर्खाका आवलि (लहर वा ताँती) नै बुझाउने हुँदछ। आफू अस्तित्वमा आउनका लागि क-कसको अवदान छ भन्ने थाहा गर्ने एउटा निहुँ पनि श्राद्ध हो। यसो हुँदा आफ्नो पुर्खावलि वा वंशावलि पनि थाहा हुँदछ। संस्कृतमा भनिएको छ- ‘श्रद्धया इदं श्राद्धम्‌’ अर्थात् जो श्रद्धाले गरिन्छ, त्यो श्राद्ध हो। भावार्थ के हो भने प्रेत र पितृका लागि, उनीहरूका तृप्तिका लागि श्रद्धापूर्वक जो अर्पित गरिन्छ त्यो श्राद्ध हो। पितृले सद्गति पाऊन् भनी कामना गर्ने विधानलाई श्राद्ध भनिएको छ।

मृत्यु हुनुभन्दा अघि कुनै  इच्छा पूर्ण भएको छैन भने मृतकको चित्त जागै हुने अनि पुनर्जन्मको बाटो नखुलिने वा स्वर्ग वा नर्क जान नपाउनेहरूले प्रेत योनि पाउँदछन् भन्ने लोक विश्वास भारतमा मात्र नभई संसारका धेरै जातिमा रहेको पाइन्छ। यस्तै लोकविश्वासले पहिले मिस्र देशले आत्माको परिकल्पना गरेछ। ग्रीसले सिकेछ। भारतले आत्माको पुनर्जन्म हुने अवधारणा थपेछ। ‘आत्मा’ वा ‘आत्मन्’ पद भारतीय दर्शनको महत्त्वपूर्ण प्रत्यय (विचार)-मध्ये एउटा हो। यो भयो उपनिषद्‌हरूको मूलभूत विषय-वस्तुको रूप।

परमात्मा नै सबै जीवात्मामा प्रसारित हुन्छन् भनेर परमात्मा खोज्ने काम उपनिषद्‌ले गरे- ‘अथातो ब्रह्म जिज्ञासा’। यसको अभिप्राय व्यक्तिमा अन्तर्निहित मूलभूत सत् हो। त्यो शाश्वत तत्त्व छ तथा मृत्युपश्चात् पनि त्यसको विनाश हुँदैन। आत्माको निरूपण श्रीमद्भगवदगीता अर्थात् गीतामा शस्त्रले नकाटिने, आगोले नजल्ने, पानीले नभिज्ने अनि हावाले नसुकाउने भनेर गरेको छ। भन्छ – जसरी मनुष्यले पुरानो वस्त्र त्यागेर नव वस्त्र धारण गर्दछ, उसरी नै आत्माले पुरानो शरीर त्यागेर नवीन शरीर धारण गर्दछ। ‘न हन्यते हन्यमाने शरीरे’- शरीर हनन भएर पनि हनन नहुने भनेपछि आत्माको अवधारणा पराकाष्ठामा पुगेकै मान्नुपर्दछ।

आत्मा हुने र पाउने अनि आत्मा पाउने बाटो देखाउने अनगन्ती महापुरुष देखिए-  कृष्ण, बुद्ध, ईशु, अष्टावक्र, राजा जनक , सन्त कबीर, मीरा बाई, गुरु नानक, साई बाबा आदि। सबै ज्ञानीजनले एक मतले भने आत्मा अमर छ, न जन्म लिँदछ, न त्यसको मृत्यु हुन्छ। आत्मा सनातन छ। आत्मा एउटा ऊर्जाको रूप हो जो शरीरदेखि टाड़िए पनि अस्तित्वमै रहँदछ। बुद्धले आत्मा मानेनन् तर चित्त माने। कामनायुक्त चित्तको पुनर्जन्म हुन्छ भने।

मृत्युपछि अतृप्त वासना के हुन्छ भन्ने रहस्य उद्घाटन गर्न स्थान, समय र मानिसको आधारमा बुझाउने भए। अर्जुन स्वयंसिद्ध मानिस हुनाले कृष्णले त्यही स्तरमा बुझाए। कपिलमुनि जन्मेको ठाउँ कपिलवस्तुमा वादविद्याको भव्य परम्परा थियो। त्यहाँका सामान्य मानिस पनि बुद्धिवादी थिए। जनकको मिथिलाभूमि र छिमेकी अङ्गप्रदेशमा सिद्ध बुद्धले विज्ञानको भाषामा बुझाए। उपनिषद् र बौद्ध विद्याले युक्त भएका सन्त यिशुले यरुसलेमका भेडापालकहरूलाई कविताजस्तो उपमानको भाषामा बुझाए। मुसलमान अतिक्रमणले आक्रान्त भारतमा फैलिएको अशिक्षाको वातावरणमा जनगणमा गरुडपुराणले रोमान्टिक स्वैरकल्पना (फेन्टासी)-ले भरिएको वर्णन गरेर आत्माको व्याख्या गरे। पितृपूजा आफैले गर्ने सामर्थ लोप भएको बेला पितृ र पितृकार्य गर्नेको बिचमा बिचौलेको भूमिका पुरोहितले निर्वाह नगरी भएन। यो परम्परा भारतीय जनमानसमा संस्कार भएर गाड़यो। यति साह्रो गाडियो कि दयानन्द सरस्वतीले आर्य समाज (१८७५) बनाएर वा राममोहन रायले ब्रह्म समाज (१८२८) बनाएर सम्झाउँदा पनि सम्झिन नसक्ने भए। दक्षिणका श्रीधरलू नाइडूले १९६४-मा वेद समाज खोलेर सम्झाउँदा पनि नपत्याउने धेरै थिए। आर्य समाजका प्रतिष्ठाता एकलो दयानन्द सरस्वतीलाई १८७९-मा काशीमा पुरोहितहरूले शास्त्रार्थ राखेर परास्त गरेको घटनालाई ठूलो समाचार बनाए । हुन ता दर्शन र कर्मकाण्डबिच भेदसाम्य धेरै छन्।

आत्मा लिएर वेदान्तीले जीवात्मा र परमात्मा भने, जैन दर्शनमा आत्माका लागि जीव शब्द प्रयोग गरिन्छ। जीव (चेतना)-लाई अजीव (शरीर)-भन्दा भिन्न देखाइएको छ। यसरी हामीले बुझ्यौँ शरीर र शरीरी वा देह र देही वा शरीर र आत्मा । बुद्धले आत्मा र ईश्वरबारे चुइँ बोलेनन्। कर्मकाण्ड र पुरोहितवादको विरोध गर्ने बुद्धको नाममा बनेको वज्रयान सम्प्रदायले भूतप्रेत मान्यो, भूतप्रेतलाई थान्को लाउने युक्ति निकाले- शङ्ख, घण्टी, ग्यालङ, दोर्जे, छर्रा आदि बजाएर, खेलाएर, मन्साए। बिजुवा-फेदङ्बाहरूले पनि प्रेतात्मालाई बोलाएर थान्को लाउने युक्ति गरे। पैगम्बरले शैतान भगाउने भनेको पनि यस्तै-यस्तै हो। प्रोफेट वा पुरोहितहरूले जनताको मनमा स्वर्गको प्रलोभन र नर्कको भय पसाइदिन अझ सफल भइराखेकै छन्। स्वर्ग-नर्क मन नै हो भन्नेहरू पनि हुन्छन्। मन शान्त हुनेलाई स्वर्ग र अशान्त हुनेलाई नर्क– मर्नुअघि वा मर्नुअघि – दुवैतिर। स्वर्ग-नर्क सपनाजस्तै हो । सपनालाई विपनाले नियन्त्रण गरेकै हुन्छ। विपनामा राम्रो काम गरेको छ भने सञ्चोको सपना देखिन्छ। विपनामा नराम्रो काम भएको वा गरेको भए सपना पनि दुःखदायक हुन्छ। प्रेतले पहिले कस्तो काम गरेको छ, त्यसैअनुरूप स्वर्ग र नर्क पाउँछ भन्नेहरू पनि छन्। गीताले तर आत्मा प्रेत भएर बस्छ भनेको छैन। शरीरमा हुञ्जेल शरीरी (आत्मा) कर्मबन्धनको वशमा भए पनि मन आत्मामा लीन भए मुक्त हुँदछ भन्दछ । श्रीकृष्णको शरण नै अन्तिम मोक्ष हो भनिएको छ। निष्काम कर्मयोगको बाटो देखाएको छ। योगीजनले आत्मा म (परमात्मा)-मा बसाउनुलाई उत्तम पथ मानेको छ-

‘श्रद्धावान् भजते यो मां स मे युक्ततमो मत’ ।

शुद्धि क्रिया नगरे मृतक पिशाच हुन्छ भन्ने लोककथालाई बढाइचढाइ गरेको पनि पाइन्छ। पिशाचले रगत चुस्छ भने। प्राचीन कालमा कहीँ रक्त-चूषक वा मांसाहारी जातिलाई लिएर पिशाचको परिकल्पना गरेको पनि हुनसक्छ। पश्चिममा पनि पिशाचको परम्परा पाइन्छ-सर्बियाको भ्याम्पाइर, ग्रीसको राइकोलाकस, रोमानियाको स्ट्रिगोई आदि। जोन पोलिडोरीको ‘द भ्याम्पाइर’ (१८१९) र ब्र्याोम स्टोकरको ‘ड्रयाकुला’ (१८९७) अङ्ग्रेजीका प्रसिद्ध आख्यान हुन् । भाइचन्द प्रधानले ‘ड्याकुला’-लाई नेपाली अनुवाद गरेका छन्। यी आख्यानहरूमा आधारित कति चलचित्र पनि बनेका छन्। ती हेरेपछि नेपालीभाषी स्थानीय मानिसहरूले दाह्राले रगत चुसेर कुल्ला गर्ने भनी ड्याकुला चिने अनि ‘दाराकुला’ माने।

अतृप्त मरे भूत हुने पनि विश्वास छ। लोकविश्वासले राँके भूत, गर्भे भूत, खोल्से भूत, सुमसाँडे भूतहरू मान्यो। नैनसिंह योन्जनले रचेको बालगीत पनि थियो – ‘एउटा गोरु टाटे-पाङ्ग्रे एउटा गोरु पुत्ले, आज मलाई झन्डै खायो बाघडाँड़ाको भुतले’। उनीहरूलाई मनाउने-मन्साउने बिजुवा, फेदङ्बा, बाहुनबाजे, लामा, गभाजु, देउभाजु, ओझाहरू छँदैछन्।

मर्नुलाई बित्नु पनि भनिन्छ। चित्त नबुझी मरे बितिसकेको वा भूतकाल भइसकेको पनि वर्तमानमा आउँछन् भन्ने विश्वास छ। पितृ भूत वा बिगत भएभए, वर्तमानमा नआऊन् भनेर तर्पण त गर्नैपर्‍यो। श्राद्धका कर्मकाण्डमा यस्ता पनि के-के हुन्छन्भा। भारतमा जस्तो श्राद्ध कर्मकाण्ड नगरे पनि पितृपूजा परम्परा यूरोपका क्याथोलिक देशतिर छँदैथ्यो। क्याथोलिक एङ्लियन चर्चहरूले अझ १ नवम्बरलाई ‘अल सेन्ट्स डे’ भनेर मान्दछन् , त्यत्ति बेला आफ्ना बाबु-बाजेहरूलाई पनि पुज्दछन्। ब्राइथोनिक र गेलिक भनिने केल्टिक संस्कृतिबाटै पितृपूजा गर्ने हेल्लोविनहरूले पनि १ नोभेम्बरै मान्दछन्। उत्तर अमेरिकाको क्यानाडामा अझ पितृपूजा परम्परा रहेको उनीहरूको क्याण्डलमास, अल सोल्स डे, डे अब् दि डेड-ले प्रमाणित गर्दछन्। संयुक्त राज्य अमेरिकामा मान्ने मेमोरियल डे-मा मृतक परिजनका समाधिमा राष्ट्रिय ध्वज अर्पण गर्दछन्।

डे अब् द डेड र अल सेन्ट्स डे त मेक्सिकोमा पनि मान्छन्। क्रिस्तान धर्म बनिनुअघिको जुडा धर्ममा पहिलेदेखि नै अब्राहम परम्पराअनुसार वर्षमा एक दिन मृतक परिजनका समाधिमा सम्झनास्वरूप रोडा-ढुङ्गा थप्ने गर्दछन्। पितृ पूजा परम्परा अफ्रिकी देशहरूमा पनि छ। चीन, जापान, भिएतनाम, काम्पुचिया आदि एशियाई देशमा पनि पितृपूजा परम्परा छ। रेयुकाईमा लाग्नेहरू पितृपूजा गर्दछन्। अब्राहम परम्पराकै भए पनि इस्लामभित्र अझ पितृ र अल्लाहमाझ अहमन्यताको विवाद गहिरै छ। उनीहरू शैतानको अस्तित्व स्वीकार गर्दछन्। शैतानको पक्षमा खलिल जिब्रानले ‘प्रोफेट’ र सलमान रुस्दीले ‘सटानिक भर्सेस’ लेख्ने हुँदा गुप्तवासमा जाउन्जेल भए। आत्माको अवधारणा बनाउने मिस्रले त पितृलाई ममी बनाएर हेरिरहने गर्दछ। इसाई बनिनुअघि रोममा शवलाई जलाउँदथे र जलाइएका खरानी नगर क्षेत्रदेखि पर समाधि बनाएर गाड़्दथे अनि बर्सेनि एक दिन पूजा गर्दथे। यिशु र महम्मद जन्मेको देश अरबमा रुख-दाउरा नपाइनाले मृतदेह गाड्नैपर्ने हुन्थ्यो। प्रकृति र पर्यावरण प्रेमी हिमाली किरातहरूले चाहिँ वृक्षपूजा पनि गर्ने हुँदा रुख बचाउन मृतदेह गाडे।

गरुडपुराणबाहेक मत्स्यपुराण, यमस्मृति, निर्णयसिन्धुमा पनि श्राद्धका निदेशहरू रहेछन्। सबैलाई समेटेमा यस्तो बुझिँदो रहेछ –

“जुन तिथिमा माता-पिताको देहान्त भएको हुन्छ, त्यही तिथिलाई पितृपक्षमा उनको श्राद्ध गरिनुपर्दछ। शास्त्रअनुसार पितृपक्षमा आफ्ना पितृका लागि आफ्नो शक्ति सामर्थ्यअनुरूप शास्त्र विधिले श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने, यसो गरेमा सकल मनोरथ सिद्ध हुने अनि घर-परिवार, व्यवसाय तथा आजीविकामा सधैँ उन्नति हुने। पितृ दोषका अनेक कारण हुन्छन्। परिवारमा कसैको अकाल मृत्यु भएमा, आफ्ना माता-पिता आदि सम्मानीय जनलाई अपमान गरेमा, मरेपछि आमा-बाबुको उचित ढङ्गले क्रियाकर्म र श्राद्ध नगरेमा, उनीहरूका लागि वार्षिक श्राद्ध आदि नगरेमा पितृदोष लाग्ने। यसको फलस्वरूप परिवारमा अशान्ति, वंश-वृद्धिमा बाधा, आकस्मिक रोग, सङ्कट, धन व्यय, सुख-सुविधा भएर पनि मन असन्तुष्ट रहने आदि पितृदोष हुन सक्दछन्। यदि परिवारमा कुनै सदस्यको अकाल मृत्यु भए पितृदोष निवारणका लागि शास्त्रीय विधिअनुसार उसको आत्मशान्ति गर्न पवित्र तीर्थ स्थान गएर श्राद्ध गर्नू। आफ्ना माता-पिता तथा अन्य ज्येष्ठ जनलाई अपमान नगर्नू । प्रतिवर्ष पितृपक्षमा आफ्ना पूर्वजका श्राद्ध, तर्पण अवश्य गर्नू ।” – यसरी भविष्यको सम्भावनालाई अकाट्य सत्य सिद्ध गरेर भए पनि जनगणलाई शास्त्रले श्राद्ध गर्न सिकाएको पाइन्छ।

पितृलाई वर्षैभरि श्रद्धाले स्मरण गर्नुपर्ने हो। सोह्र सराध वा श्राद्ध पक्षमा चाहिँ गर्नैपर्ने नियम बसालेर पुर्खालाई सश्रद्धा सम्झने काम गरिन्छ। विश्वास नभए पुरोहित चलाउनैपर्छ भन्ने ठोकुवा छैन । सन्त रविदासले भनेकै छन्- ‘मन चङ्गा तो कटोरी में गंगा’। कबीरदास भन्छन्- ‘मन में गंगा मन में जमुना मन में रघुवर गीता ’। पूजाका सामग्री बटुल-बाटुल गरेर टन्टा गर्नैपर्छ भन्ने छैन। कर्मकाण्डमा भनेजस्तै सबै थोक जोहो गर्नैपर्छ भन्ने पनि करकाप छैन। मन ठूलो गरेर दुःखीलाई दान दिनु सबैभन्दा श्रेष्ठ श्राद्धकर्म हुनेछ। चाँजो मिलाएर अनाथ आश्रम वा वृद्ध आश्रम गएर सेवा-दान गरे पितृ अझ हर्षित हुनेछन्। पितृलाई त जे चढाउँदा पनि हुन्छ, शरीरमा छैनन्।उपवास पनि बस्नै पर्छ भन्ने करकाप छैन। मनको सत्यव्रत वा सत्यनिष्ठा सर्वोत्तम हो। मृतक शरीरमा नभए पनि मृतकका अमर गुणकृतिलाई स्मरण गर्नुपर्ने हो। गीताले पितृलाई देवस्वरूप मानेकै छ। गीतामा भगवान्‌ले भनेकै छन्- भक्तले मेरो लागि प्रेमले पत्र, पुष्प, फल, जल आदि अर्पण गरेमा त्यस शुद्धबुद्धि निष्काम प्रेमी भक्तद्वारा प्रेमपूर्वक अर्पण गरिएका जे पनि म स्वीकार गर्दछु, यथा–

 पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।

 तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥ ९:२६

एउटा सत्य घटना छ – इ. १६५२-मा शाहजहाँलाई रोग लाग्यो। यस्तोमा छोरा  दारा शिकोह, शाह शुजा र औरङ्गज़ेबबिच सत्ता संघर्ष थालनी भयो। औरङ्गजेब उद्दण्ड र अंकुशे नलागेको निरङ्कुश बने। बङ्ग प्रदेशका राज्यपाल घोषित भइसकेका शाह शुजा बाँच्न बर्माको अरकन क्षेत्रमा शरण लिन विवश बने। मगधका राज्यपाल दारा शिकोहलाई ५०वटा उपनिषद् अरबीमा अनुवाद गरेको आरोपमा मारियो। १६५९-मा औरङ्गजेबले  शाहजहाँलाई ताज महलमा बन्दी बनाए अनि आफूलाई शासक घोषित गरे। बाबु शाहजहाँलाई मार्न विष पठाए तर शाहजहाँप्रति निष्ठावान् मन्त्री आफैले विषपान गरेर मरे। यस्तो स्थितिमा कारादण्ड भोगिरहेका शाहजहाँले भने-‘’धन्य ती हिन्दूहरू, जसले परलोकमा पनि पितालाई पानी पिलाउँछन् ।’’

प्रकाशित: ११ असोज २०८३ ९:४८ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast