काठमाडौँ- रूसको ड्यूमा (संसद्) का लागि भएको नवौँ संसदीय निर्वाचनको परिणामअनुसार सत्तारूढ युनाइटेड रसिया पार्टीले ३४९ सिट जितेर ‘संवैधानिक बहुमत’ कायम राखेको रूसी केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एल्ला पाम्फिलोभालेघोषणा गरेका छन्। यो रूसका बहालवाला राष्ट्रपति भ्लादिमिर पुटीनको पार्टी हो।
ड्यूमा रूसको स्थायी विधायिकी निकाय हो, जसमा ४५० सांसद हुन्छन्।
पाम्फिलोभाले संसद्को तल्लो सदन ड्युमामा ६ वटा दलका प्रतिनिधि र चार स्वतन्त्र उम्मेदवार निर्वाचित भएको बताउँदै युनाइटेड रसियाले संसदको तल्लो सदनमा ३४९ सिट प्राप्त गरेको बताए।
सीईसीको तथ्यांकअनुसार युनाइटेड रसियाले संसदको तल्लो सदनमा ३४९ सिट प्रप्त गरेको छ भने रूसी कम्युनिस्ट पार्टीले ३७, लिबरल डेमोक्रेटिक पार्टी अफ रसियाले २३, न्यू पिपुलले १९, अ जस्ट रसियाले १७ र रोडिनाले एक सिट जितेका छन्।
बाँकी चार सिटमा स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन्।
‘सेप्टेम्बर १८-२० मा भएको ड्यूमाको निर्वाचनको अन्तिम मतदान प्रतिशत ५९.८ प्रतिशत रहेको थियो, जुन सन् २०२१ मा भएको उच्च ५१.७२ प्रतिशतभन्दा बढी सहभागिता हो,’ पाम्फिलोभाले बताए।
ड्यूमामा सिट बाँडफाँड परम्परागत मोडेलअनुसार हुने गर्छ। निर्वाचनमा दललाई प्राप्त मतबाट पाँच प्रतिशत सीमा पार गर्ने दललाई उनीहरूले प्राप्त गरेको मतका आधारमा कुल ४५० मध्ये २२५ सिट पार्टी सूचीअनुसार समानुपातिक रूपमा बाँडिन्छ भने बाँकी २२५ सिट देशभरका निर्वाचन क्षेत्रहरूबाट सापेक्ष बहुमत मतदान प्रणालीअन्तर्गत निर्वाचित हुन्छन्।



