अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प बुधबार मेरिल्यान्डस्थित संयुक्त आधार एन्ड्र्युजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनसँग। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ह्वाइट हाउसमा भव्य राजकीय समारोहका साथ स्वागत गर्दै छन्। रणनीतिक प्रतिस्पर्धाबीच पनि दुई देशबीचको सम्बन्ध स्थिर रहेको सन्देश दिन खोजिएको यस शिखर बैठकमा प्रतीकात्मक पक्ष बढी र ठोस उपलब्धि कम हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यो वर्ष विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच हुन लागेको दोस्रो भेट हो। सीको यो भ्रमण एक दशकभन्दा बढी समयपछि पहिलोपटक वासिङ्टनमा हुँदै छ।
ट्रम्पले बुधबार साँझ सीलाई अमेरिका प्रवेश गर्ने क्रममा स्वागत गरेका थिए। राष्ट्रपतीय कार्यक्रमको अभिलेख राख्ने सी-स्प्यानका अनुसार ११ वर्षपछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले संयुक्त आधार एन्ड्र्युजमा विदेशी नेताको स्वागत गरेका हुन्। यसअघि सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले पोप फ्रान्सिसलाई त्यहाँ स्वागत गरेका थिए।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उद्धृत गरेको अमेरिका आगमनसम्बन्धी वक्तव्यमा सीले अमेरिका-चीन सम्बन्ध अझ स्थिर बन्ने आशा व्यक्त गर्दै बेइजिङ र वासिङ्टन प्रतिद्वन्द्वी होइन, साझेदार हुनुपर्ने बताएका छन्। उनले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वको ऐतिहासिक तर्क नबदलिएको पनि बताएका छन्।
समारोह र शक्तिशाली नेताहरूसँगको सम्बन्धलाई महत्त्व दिने ट्रम्पका लागि सीको भ्रमण उच्चस्तरीय कूटनीतिक अवसरसँगै अमेरिकी राष्ट्रिय प्रतिष्ठाको विषय पनि बनेको छ।
मेमा चीन भ्रमणका क्रममा आफूले पाएको भव्य स्वागतको प्रत्युत्तर दिने उद्देश्यले ट्रम्पले ह्वाइट हाउसको साउथ लन, स्टेट फ्लोर र रोज गार्डेनमा विभिन्न समारोह आयोजना गर्ने तयारी गरेका छन्।
विश्लेषकहरूका अनुसार तत्काल देखिने उपलब्धि नोभेम्बरमा सकिन लागेको व्यापार युद्धविरामलाई थप लम्ब्याउने र कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न जोखिमबारे अध्ययन गर्ने सहमतिसम्म सीमित हुन सक्छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग वार्तापछि बुधबार फक्स न्युजलाई दिएको जानकारीअनुसार दुवै पक्षले एकअर्कामाथि लगाइएको भन्सारदर १०० प्रतिशतभन्दा माथि पुगेको व्यापार युद्धलाई रोक्ने सम्झौताको अवधि जनवरी १० सम्म लम्ब्याउन सहमति गरेका छन्।
केही वस्तुमा भन्सार घटाउने, लागुऔषध तस्करी नियन्त्रण गर्ने र दुई देशका सेनाबीच संवाद विस्तार गर्ने विषयमा पनि सहमति हुन सक्छ। ट्रम्पले चीनमा हिरासतमा रहेका अमेरिकी नागरिक तथा अन्य व्यक्तिको रिहाइको विषय पनि उठाउने अपेक्षा गरिएको छ।
अमेरिकाका पूर्वउपविदेशमन्त्री कर्ट क्याम्पबेलले यो शिखर बैठक ठोस वार्ताभन्दा पनि दुई प्रभावशाली नेताले आआफ्नो शक्ति प्रदर्शन गर्ने अवसर भएको बताएका छन्।
चीनको व्यापारमा भएको वृद्धिको नेतृत्व गरेका सी अहिले तुलनात्मक रूपमा बलियो अवस्थामा देखिन्छन्। दुर्लभ खनिज (रेअर अर्थ) को आपूर्तिमाथि चीनको नियन्त्रणले पनि उनलाई अमेरिकासँगको वार्तामा महत्त्वपूर्ण प्रभाव दिएको छ।
दुवै नेताले सम्बन्ध स्थिर राख्नुमा फाइदा देखेका छन्। ट्रम्प अलोकप्रिय बन्दै गएको इरान युद्धमा अल्झिएका छन् भने सीले चीनभित्रका आर्थिक चुनौती सामना गरिरहेका छन्।
सतहमुनि ताइवान, प्रविधि निर्यात नियन्त्रण र एआईजस्ता विषयले दुई देशबीच पुनः तनाव बढाउने सम्भावना कायमै छ।
तीमध्ये सबैभन्दा संवेदनशील विषय ताइवान हो। चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवान लोकतान्त्रिक शासनमा रहेको टापु हो।
एसियामा रहेका अमेरिकी साझेदारहरू चीनसँग आर्थिक उपलब्धि हासिल गर्ने क्रममा ट्रम्पले ताइवानप्रतिको वासिङ्टनको समर्थन कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।
सीले ट्रम्पसँग ताइवानलाई अमेरिकी हतियार बिक्री रोक्न आग्रह गर्ने अपेक्षा गरिएको छ। शुक्रबार दुवै नेता अमेरिकी राष्ट्रिय अभिलेखालय जाने क्रममा पनि यो विषय उठ्न सक्ने स्रोतहरूले बताएका छन्। त्यसको बदलामा चीनले इरानमाथि दबाब बढाउन अमेरिकालाई सहयोग गर्ने प्रस्ताव गरेको उनीहरूको भनाइ छ।
मेमा भएको शिखर बैठकपछि ट्रम्पले करिब १४ अर्ब डलर बराबरको हतियार बिक्री प्याकेजलाई रोकिराखेको बताएका थिए। उनले त्यसलाई ‘धेरै राम्रो वार्ताको हतियार’ भनेका थिए।
दुवै नेताबीच इरान युद्धबारे पनि छलफल हुने सम्भावना छ। तर युद्धका कारण ऊर्जा आपूर्ति र व्यापारमा असर परे पनि चीनले अमेरिकाको मागअनुसार आफ्नो साझेदार इरानमाथि दबाब दिने संकेत भने खासै देखाएको छैन।
व्यापारका विषयमा भने सहमतिको सम्भावना तुलनात्मक रूपमा बढी देखिएको छ। ट्रम्पले मध्यावधि निर्वाचनअघि व्यापारसम्बन्धी उपलब्धि देखाउन खोजिरहेका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यसै महिना कृषि र गैरभन्सार अवरोधबारे ‘केही घोषणा’ हुने बताएका थिए।
ग्रियरले सोमबार चीनले बोइङका २०० वटा विमान खरिद गर्ने प्रतिबद्धतामा प्रगति गरिरहेको बताए। तर थप विमान खरिदको आदेश नजिकै रहेको संकेत उनले दिएनन्।
राष्ट्रिय सुरक्षा, आर्थिक प्रतिस्पर्धा र सैन्य क्षमतामा प्रभाव पार्ने भएकाले एआई पनि दुई देशबीच सहकार्यको एउटा सम्भावित क्षेत्र हुन सक्ने विश्लेषकहरूको भनाइ छ। एआईको दुरुपयोगबारे अमेरिका र चीन दुवै चिन्तित छन्।


