५१२ पालिकामा सकियो कांग्रेसको अधिवेशन

हिमाल प्रेस ७ असोज २०८३ १८:०७ | Wednesday, September 23, 2026
6
SHARES
५१२ पालिकामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौँ- नेपाली कांग्रेसले ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सकिएको जनाएको छ।

१५ औँ महाधिवेशनअन्तर्गत ५१२ पालिकामा उद्घाटन सत्रसहित बन्द सत्र सुरु भई निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक राज कटुवालले गाउँ/नगर अधिवेशनका लागि बुधबार समय तोकिएकोमा ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी दिएका छन्।

अन्य बाँकी रहेका २४१ पालिकामा बिहीबार र शुक्रबार पनि अधिवेशन जारी रहने उनले बताएका छन्।

अधिवेशन चलिरहेको समयावधिमा जल तथा मौसम विभागबाट प्राप्त जानकारीअनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकोले मौसमलाई ध्यानमा राखेर अनुकूल समय मिलाई अधिवेशन गराउन निर्वाचन समितिले सम्बन्धीत निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना गरिएको छ।

असोज ३ गते वडा अधिवेशनबाट प्रारम्भ भएको महाधिवेशनको प्रक्रिया अन्तर्गत बुधबार पालिका तहको अधिवेशन आयोजना गरिएको हो।

कांग्रेसको विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुने व्यवस्था रहेको छ। जसमा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ भने कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने वैधानिक प्रावधान रहेको छ।

कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिवार हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ।

प्रकाशित: ७ असोज २०८३ १८:०७ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast