अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : रासस
काठमाडौँ- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूतसहित नेपाली अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) दोहाबाट न्युयोर्क प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीले उनको स्वागत गर्नेछन्।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा जानेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणका विषयमा उनलाई ब्रिफिङ गर्ने कार्यक्रम छ। त्यसपछि स्थायी प्रतिनिधिहरूले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने समारोहमा उनी सहभागी हुनेछन्।
असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। त्यसलगत्तै उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
महासभाको सम्बोधनपछि प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा फर्कनेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते काठमाडौँ फर्कने तालिका छ।


