होर्मुज जलमार्ग।
फाइल तस्बिर : एपी/रासस
काठमाडौँ- यमनका हुथी विद्रोहीहरूको बढ्दो सैन्य गतिविधि र साउदी अरबका तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमणका कारण पाकिस्तानका लागि इन्धन आयात थप चुनौतीपूर्ण बनेको छ।
यसअघि समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट हुने आवतजावत प्रभावित हुँदा पनि पाकिस्तानमा इन्धन आपूर्तिको संकट चर्किएको थियो।
यसैबीच पाकिस्तानका पेट्रोलियममन्त्री अली पर्वेज मलिकले देशमा तेलको चरम अभाव भएमा यसको मूल्य प्रतिलिटर एक हजार पाकिस्तानी रुपैयाँसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
लाहोरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने,‘यदि देशमा इन्धनको चरम अभाव सिर्जना भयो भने, एक हजार रुपैयाँ प्रतिलिटर तिर्दा पनि तेल पाउन मुश्किल पर्न सक्छ।’
उनले सरकारले अन्तिम समयसम्म यो संकट समाधानका निरन्तर प्रयास जारी राख्ने बताए।
पश्चिम एसियामा जारी द्वन्द्वबारे उनले भने,‘अहिलेको संघर्ष कहिले अन्त्य हुन्छ भन्ने विषय अझै अनिश्चित छ। यो संघर्षका कारण विश्वबजारमा तेलको मूल्य ८० प्रतिशतसम्म बढेको छ।’


