काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई अझै तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको र अब पुनःस्थापना तथा पुननिर्माणको काम सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री र पदाधिकारीबाट प्राप्त भएको बताए।
यस्तै, बेपत्ता भएकाहरूको शव पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षण छिटो गर्न, पीडित परिवारलाई राहतको अनुभूति गराउन र सहयोगको सेवालाई प्रभावकारी बनाउन माग गरिएको प्रवक्ता खरेलले जानकारी दिए।
प्रवक्ता खरेलले अझै पनि पाँच हजारभन्दा बढी व्यक्तिहरू बेपत्ता रहेको र कयौँ परिवार पीडामा रहेको उल्लेख गर्दै पार्टीले मृत्यु भएको वा नभएको बारे छिनोफानो गर्न माग गरेको बताए।
बैठकमा मधेश प्रदेशको अधिवेशनका सम्बन्धमा देखिएका आन्तरिक समस्याहरूको बारेमा पनि छलफल भएको छ। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।
त्यस्तै, पार्टीले अनुशासन आयोग र केही विभागहरूमा नयाँ सदस्यहरू मनोनीत गरेको छ। पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको छ ।
पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू, निर्वाचित सांसदहरू र पार्टी नेताहरूको आचरणलाई सुधार गर्दै पार्टी र सरकारबिचको सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न निर्देशन दिएको र पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएको प्रवक्ता खरेलले जानकारी दिए।
त्यसतै बाढीको विपद्पछि रास्वपाले स्थगित भएका सबै औपचारिक तथा नियमित कामहरू सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको बताइएको छ।


