काठमाडौँ- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको विषय निरन्तर चलिरहेको छ। एमालेका दोस्रो स्तरका नेताहरूको दबाबमा पार्टी पुर्नगठन कार्यदल नै गठन गरेर अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने तयारी चलिरहदा राष्ट्रियसभा सदस्य एवं नेत्रृ रामकुमारी झाँक्री भने ओलीको पक्षमा खुलेकी छन्।
ओलीसँगकै किचलोले एमाले छाडेर माधवकुमार नेपालसँग नयाँ पार्टी गठनमा लागेकी झाँक्री केही समयअघि एमाले फर्किइन्। त्यसपछि उनी निरन्तर ओलीको पक्षमा खम्बा बनेकी छन्। आज पनि सामाजिक सन्जालमा ओलीको तस्बिर राख्दै लोमो स्टाटस लेखेकी छन्।
झाँक्रीले सन्जालमार्फत घुमाउरो तरिकाले संकटमा कसैलाई ढालेर बलियो नभइने भएकाले ढल्न लागेकालाई उठाउन प्रयास गर्नुपर्ने बताएकी छन्। एमाले हारेको समयको संकेत दिँदै झाँक्रीले लडाइँ र प्रतिस्पर्धा बलियो र सक्षमसँग गर्नुपर्छ तर जब समयले हामी सबैलाई एउटै बाढीमा हुत्याएर एउटै किनारमा पछारिदिन्छ, त्यतिबेला पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको कुनै अर्थ नरहने बताएकी छन्।
स्टाटस जस्ताको तस्तै
कुनै दिन आफैंलाई कसैको हात चाहिन्छ।
कुनै दिन आफैलाई बाटो देखाउने, र म छु नि भन्ने मान्छे चाहिन्छ।
जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्। सबै दिन प्रतिस्पर्धाका दिन पनि हुँदैनन्। केही दिन यस्ता आउँछन्, जब हामीलाई जित्न होइन, बाँच्नका लागि एक–अर्काको सहारा आवश्यकता पर्छ।
आज जो बलियो देखिएको छ, भोलि ऊ आफैं त्यस्तो नहुन सक्छ। आज जसको हातमा शक्ति छ, भोलि उसैले कसैको हात समात्नुपर्ने हुन सक्छ। आज जसलाई हामी पछाडि पार्न खोजिरहेका छौँ, भोलि उसैले हामीलाई भग्नावशेषबाट बाहिर निकाल्ने हात दिन सक्छ।
त्यसैले संकटमा कसैलाई ढालेर हामी बलियो हुँदैनौँ। बरू ढल्न लागेको कसैलाई हात दिएर, उठाएर मात्र हामी सबै बाँच्न सक्छौँ।
समाजमा हाम्रो वास्तविक परीक्षा हामी कति शक्तिशाली छौँ भन्नेमा होइन, हामी कमजोर हुँदा एक–अर्कालाई कति सम्हाल्न सक्छौँ भन्नेमा हुन्छ।
सायद यही नै जीवनको सबैभन्दा ठूलो सत्य हो।
बाँच्नु भनेको आफू मात्र बाँच्नु होइन, अरूलाई पनि बाँच्न दिनु हो।
प्रिय साथीहरू,
लडाइँ र प्रतिस्पर्धा बलियो र सक्षमसँग गर्नुपर्छ। तर जब समयले हामी सबैलाई एउटै बाढीमा हुत्याएर एउटै किनारमा पछारिदिन्छ, त्यतिबेला पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको कुनै अर्थ रहँदैन।
त्यो बेला हामी सबैको अवस्था उस्तै हुन्छ—कोही हिलोमा गाडिएको, कोही भग्नावशेषमुनि पुरिएको, कोही एक्लै उठ्न खोजिरहेको त कोही अरूको हात समातेर आफू पनि उठ्न खोजिरहेको।
त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो। कसैलाई ढुंगा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो।बेसहारा हुनु हो।
हामी कस्तो समाज बनाउँदै छौँ भन्ने प्रश्न पनि संगै उठ्छ नै तर अरूलाई सोध्नुभन्दा पहिले आफैंलाई सोधौँ।
के यो समय खराब हो?
कि हामी नै यो समयसँगै खराब हुँदै गएका हौँ?
समय खराब हो भने त्यसलाई बदल्ने जिम्मेवारी पनि हाम्रो हो। र हामी खराब हुँदै गएका हौँ भने फर्कने बाटो पनि हामीसँगै हुनुपर्छ।
त्यसैले फेरि एक पटक कसैको हात समातौँ/उठाऔँ। फेरि एक पटक बाँच्न सकिन्छ भनेर एक आपसमा विश्वास दिलाऔँ।
किनकि समाज/हामी त्यतिबेला बलियो हुन्छौं जब कमजोरलाई ढाल्न होइन, उठाउन हामी अघि सर्छौ।
फ्ल्यास फ्लडले कसैलाई सोधेर आउने रहेन्छ। त्यसले बलियो र कमजोर पनि नछुट्याउँने रहेछ। धनी र गरिब, आफ्ना र पराया कसैलाई नछुट्याउँनेरहेछ। कुनै दिन एकपटक बाढी आयो भने हामी सबैलाई एउटै भेलले हुत्ताउने रहेछ।
जीवनमा पनि कहिलेकाहीँ यस्तै हुन्छ।
हामी आफ्नो शक्ति, पद, प्रतिष्ठा, सम्बन्ध र अहंकार बोकेर उभिरहेका हुन्छौँ। अनि एउटा समय आउँछ, जसले सबै कुरा एकैपटक बगाइदिन्छ। त्यतिबेला बाँकी रहन्छ त केवल एउटा प्रश्नः
“मलाई उठाउने मेरो नजिक कोही छ?”
त्यसैले आज कसैको हात छुटाउनु अघि एकपटक सोचौँ: भोलि त्यही हातको आवश्यकता हामीलाई पर्न सक्छ।
आज कसैलाई कमजोर देखेर धकेल्नु अघि सम्झौँः समयको अर्को भेलले भोलि हामीलाई पनि त्यही किनारमा पछार्न सक्छ।
जीवनमा सबैसँग सधैँ जित्न सकिँदैन।
तर सबैसँग मिलेर बाँच्न सकिन्छ।
कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हुन्छ।
पिडाले झरेका आँसुलाई पुछिदिनु सबैभन्दा ठूलो मानवता हुन्छ।
र ढल्न लागेको मान्छेलाई “उठ, अझै बाँच्न सकिन्छ” भन्नु नै सबैभन्दा ठूलो साहस हुन्छ। भविश्यप्रतिको आशा हुन्छ।
अन्ततः हामी सबै एउटै डुंगाका यात्रु हौँ।
यो बेला हामी सबैको कि जीवन कि त सामुहिक मृत्यू।
त्यसैले हामी समाज यस्तो नबनाऔँः
जहाँ पीडितलाई लुट्न भीड जुटोस्, घाटीको सिक्री, हातको घडी तानोस।
जहाँ ढलेको मान्छेलाई उठाउने हात होईन, हातमा ढुंगा लिएर उसैलाई किचोस।
किनकि जीवनको अर्थ केवल आफू बाँच्नुमा छैन। हामीसँगै अरूलाई बचाउनुमा छ, बाँच्न सक्ने बनाउनुपर्छ।


