काठमाडौँ- अबुधाबीस्थित नेपाली राजदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताको संघर्ष र बलिदानपछि प्राप्त संविधानले प्रत्याभूत गरेका हक, अधिकार, मूल्यमान्यता र संघीय लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकासमा योगदान पुर्याउन सबैको दायित्व रहेको बताए।
उनले शान्ति, विकास, समृद्धि र सुशासन कायम गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।
राजदूत क्षेत्रीले नेपालमा भएको प्राकृतिक विपत्तिको सामना गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरे।
गैरआवासीय नेपाली संघ यूएई, विद्यार्थी समूह, विभिन्न वैचारिक संघसंस्था, नेपाली समाज यूएई र पत्रकार महासंघ यूएईका प्रतिनिधिहरूले पनि संविधानले दिएका हक र अधिकारको संरक्षण गर्दै नेपाल र नेपालीको समृद्धिका लागि योगदान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा झन्डोत्तोलन र राष्ट्रियगानसँगै सहिदहरूको सम्मानमा मौनधारण गरिएको थियो।
कार्यक्रममा दूतवासका कूटनीतिक कर्मचारी, दूतवास परिवारका सदस्य, एनआरएनए, एनसीसी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएई, नेपाल समाज यूएई, विभिन्न वैचारिक संगठन, आदिवासी जनजाति महासंघ यूएईलगायतका संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए।


