काठमाडौँ- नेपाल भ्रमण सम्पन्न गरेको करिब एक महिनापछि संयुक्त अरब इमिरेट् (यूएई) का वैदेशिक व्यापारमन्त्री डा.थानी बिन अहमद अल जेयुदीले नेपालसँगको व्यापार, लगानी र आर्थिक सहकार्यका विषयमा जोड दिएका छन्।
उनले आफ्नै कार्यालयमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई भेटका लागि बोलाएर लगानी र व्यापारबारे पुनः छलफल गरेका हुन्।गत असार २४ गते औपचारिक भ्रमणका लागि काठमाडौँ आएका मन्त्री जेयुदीले नेपालमा दुई दिन बिताएका थिए।
भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय वार्ता गरेका थिए भने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग पनि शिष्टाचार भेट गरेका थिए। त्यसक्रममा नेपाल–यूएईबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको थियो।
निकै ब्यस्त रहने मन्त्री जेयुदीले करिब एक महिनापछि नेपाली राजदूत क्षेत्रीसँग भेट गर्दै नेपाल भ्रमण र अगाडि बाढाउन सक्ने योजनाका विषयमा छलफल गर्दै नेपालसँगको सहकार्य र लगानी प्रक्रियालाई निरन्तरता दिएका हुन्।
यूएईस्थित नेपाली दूतावासका अनुसार भेटमा नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार र लगानीका अवसर विस्तार गर्ने तथा आर्थिक साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
विशेषगरी नेपालमा यूएईको लगानी बढाउन सकिने सम्भावित क्षेत्र, निजी क्षेत्रबीच सहकार्य, व्यापार विस्तार र आर्थिक साझेदारीलाई संस्थागत रूपमा अघि बढाउने विषयमा दुवै पक्षबीच छलफल भएको दूतावासले जनाएको छ।

राजदूत क्षेत्रीले नेपालमा उपलब्ध लगानीका अवसर, आर्थिक सुधारका प्रयास तथा विदेशी लगानीकर्ताका लागि खुला भएका क्षेत्रबारे मन्त्री जेयुदीलाई जानकारी गराएका थिए।
परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिवसमेत रहेका क्षेत्री यूएईमा नियुक्त भएयता आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै लगानी प्रवर्द्धन र द्विपक्षीय सम्बन्ध विस्तारका लागि सक्रिय रूपमा पहल गर्दै आएका छन्।
नेपाल भ्रमणका क्रममा मन्त्री जेयुदीको एजेन्डा औपचारिक रूपमा सार्वजनिक नगरिए पनि उनी यूएईको आर्थिक पहुँच विस्तार गर्ने प्रमुख नीतिनिर्मातामध्ये एक मानिन्छन्। उनले विभिन्न मुलुकसँग व्यापार सम्झौता, लगानी साझेदारी र आर्थिक सहकार्य विस्तारका लागि सक्रिय भूमिका खेल्दै आएका छन्।
नेपाल र यूएईबीच श्रम सम्बन्धसँगै आर्थिक सम्बन्ध पनि निरन्तर विस्तार हुँदै गएको छ। यूएईमा सात लाखभन्दा बढी नेपाली कार्यरत छन्। त्यस्तै, यूएई खाडी क्षेत्रका नेपालका प्रमुख आर्थिक साझेदारमध्ये एक हो। गत आर्थिक वर्षमा यूएई नेपालका लागि पाँचौँ ठूलो आयात स्रोत बनेको थियो।
सो अवधिमा यूएईबाट नेपालले २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने नेपालबाट ३ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
कूटनीतिक वृत्तमा मन्त्री जेयुदीले नेपाल भ्रमणपछि राजदूत क्षेत्रीसँग गरेको पछिल्लो भेटलाई भ्रमणका क्रममा भएका समझदारी र सम्भावित आर्थिक सहकार्यलाई कार्यान्वयनतर्फ अघि बढाउने फलोअप कूटनीतिक पहलका रूपमा हेरिएको छ।


