एमालेसँग एकताको हल्लामा सत्यता छैन : पुन

हिमाल प्रेस ३ असोज २०८३ १६:१७ | Saturday, September 19, 2026
एमालेसँग एकताको हल्लामा सत्यता छैन : पुन

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका छन्।

शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले तत्कालै एमालेसँगको एकता र एकतापछि नेताहरुको बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन्।

उनले भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा कुराकानी भएको उल्लेख गरे। एमालेसँग प्रदेश सरकारमा सहकार्य भइसकेको भन्दै उनले संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिहरू तथा आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए।

एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था नरहेको नेता पुनको भनाइ छ।

नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू सरकारमा रहेको भन्दै संविधानको बारेमा सत्तारुढ दल रास्वपाको स्पष्ट धारणा आउनुपर्ने बताए। सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि नतिजा नआउँदा आक्रोश बढेको उनले टिप्पणी गरे।

उनले राजदूत नियुक्तिमा पनि सरकारको दोहोरो चरित्र देखिएको बताए। पुराना व्यवस्थाका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएकोमा आलोचना गर्दै नयाँ भनिने पार्टीहरू ‘वाशिङ मेसिन’ जस्तो बनेको तर्क गरे।

रसुवा विपद् र उद्धारमा सरकारी उदासीनता देखिएको भन्दै उनले आलोचना गरे। नेता पुनले जनतालाई केवल आलोचनाले मात्र चित्त बुझाउन नसकिने भएकाले आफ्ना कमी–कमजोरी स्वीकार्दै सुध्रिनुपर्ने र जनताको विश्वास पुनः जित्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३ असोज २०८३ १६:१७ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast