देशभर बदलीको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

हिमाल प्रेस २ असोज २०८३ ७:०९ | Friday, September 18, 2026
देशभर बदलीको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौँ- देशभर मनसुनी वायु सक्रिय रहँदा पश्चिमी वायुको पनि आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले शुक्रबार देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ।

शुक्रबार बिहान कोशी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा संखुवासभाको टासीगाउँमा २७.९ मिलिमिटर वर्षा मापन भएको छ। ताप्लेजुङको तापेथोकमा १०.४ मिलिमिटर र लुङथुङमा ७.६ मिलिमिटर वर्षा भएको छ।

गएको २४ घण्टामा झापाको चन्द्रागिरि विमानस्थल क्षेत्रमा सबैभन्दा बढी ११२.२ मिलिमिटर वर्षा भएको छ। त्यसपछि अनारमनी बिर्तामा ८९.६ मिलिमिटर, उदयपुरको गाइघाटमा ८६.८ मिलिमिटर र संखुवासभाको टासीगाउँमा ८२.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। अन्य विभिन्न क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा भएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

राति पनि कोशीसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपात हुन सक्नेछ।

यस्तै, कोशी र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा, बागमतीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशीको तराईका केही स्थानमा, मधेश तथा बागमती र गण्डकीका तराईका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: २ असोज २०८३ ७:०९ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast