म्याग्दी- कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन्।
घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि कटान रोकिएको बताए।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत सो आयोजना अगाडि बढाइएको हो।
बाढी र कटान रोकथामका लागि नदीकिनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरिएको इन्जिनियर नरजंग गुरुङले बताए।
उनका अनुसार ९४ मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ। जगदेखि दुई मिटर माथिसम्म चार मिटर फराकिलो आरसिसी र त्यसमाथि पलम पर्खाल लगाइएको छ।
यस्तै, त्यसभन्दा माथि ग्यावियन जाली राखिएको छ। सो कार्यका लागि केटी/जेएसआर जेभीले २०८२ साल फागुन २५ गते रु एक करोड नौ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको थियो।
यस्तै,थप ९५ मिटर दूरीमा ठूला ढुंगा राखेर बाढी छेक्नका लागि ‘र्यापिङ’ गरिएको छ। सो कार्यका लागि एमपी निर्माण सेवाले रु १२ लाखमा ठेक्का सम्झौता गरेको थियो।
यस्तै, स्थानीय निलगिरि आधारभूत विद्यालयको भवन क्षेत्र संरक्षणका लागि पनि प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीयवासी प्रेमबहादुर तिलिजाले बताए।
मुस्ताङ जाने वैकल्पिक पदमार्ग र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने घराप गाउँमा २५ घरपरिवारको बसोबास छ।
सुन्तलाको बगैँचा रहेको घरापमा नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्र कार्यालय र निलगिरि आधारभूत विद्यालय अवस्थित छ।


