काठमाडौँ- कालीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीबाट आग्रह गरिएको छ ।
मुस्ताङतर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको प्रहरीले जनाएको छ । नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
यी तीनै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ समेत गरेर स्थानीयलाई सतर्ककता अपनाउन आग्रह गरिरहेका छन् ।
कालीगण्डकीको आसपासमा पर्ने म्याग्दीको बेनी, बागलुङका नियरघाट, मालढुंगालगायत स्थानका नागरिकलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । शनिबार (असोज १०) बिहानैदेखि कालीगण्डकीमा पानीको सतह अघिल्लो दिनभन्दा झनै बढेको छ।
मोदी र काली मिसिने पर्वतको मोदीवेणीमा कालीगण्डकी नदीको बहाव चेतावनी तह पार भएको छ । कालीगण्डकी बहने अरू ठाउँमा भने जलसतह चेतावनी तहभन्दा तल रहे पनि बढ्दो क्रममा छ।



