कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

हिमाल प्रेस १ असोज २०८३ २०:०६ | Thursday, September 17, 2026
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन फाइल तस्बिर

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा आंशिक रूपमा बन्द गरिएकामा केही दिनका लागि लागि पूर्ण रूपमा सञ्चालनमा रहने भएको छ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी एवं इञ्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइनखोलामा स्लोप स्टाबिलाइजेसन (सडकको भीर स्थिरीकरण) को काम भइरहेकाले गत भदौ २२ गतेदेखि उक्त क्षेत्रमा सवारी आवागमन आंशिक रूपमा सञ्चालन गरिएको थियो।

कृष्णभीरको सडक खुलेसँगै तराईबाट काठमाडौँ प्रवेश गर्ने मुख्य लाइफलाइन मार्गमा यातायात सहज बनाउन केही दिनका लागि तुइनखोलाको काम रोकिएको उनले बताए।

उनका अनुसार लामो समयदेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीतर्फ जाने सवारीसाधन प्रभावित भएका थिए। कृष्णभीर सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा थप अवरोध नहोस् र सवारी आवागमन सहज होस् भन्ने उद्देश्यले तुइनखोलामा भइरहेको काम अस्थायी रूपमा रोकिएको उनले जानकारी दिए।

आचार्यले भने, ‘लामो समयसम्म काठमाडौँ जाने सवारीसाधन यहाँबाट पाएका छैनन्। नारायणगढ–मुग्लिन सडकखण्डमा पनि अवरोध हुँदा थप समस्या नहोस् भनेर केही दिनका लागि काम रोकेर सडक पूर्ण रूपमा सञ्चालनमा सहज बनाइएको हो।’

उनले यातायात सहज भएपछि पुनः तुइनखोलामा पहिरो व्यवस्थापनको काम सुरु गरिने बताए।

तुइनखोलामा स्लोप स्टाबिलाइजेसनको काम भइरहेकाले यसअघि बिहान ८ः३० बजेदेखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने व्यवस्था गरिएको थियो। बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन हुँदै आएका थिए।

गत वर्षदेखि तुइनखोलामा वर्षायाम मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिन थालेपछि सडक डिभिजन भरतपुरले यसको दीर्घकालीन समाधानका लागि विशेष प्रविधि अपनाएर काम अघि बढाएको छ।

यसअन्तर्गत भीरको स्लोप मिलाउने, ‘नेलिङ’ प्रविधि प्रयोग गर्ने, रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ निर्माण गर्ने तथा बायोइन्जिनियरिङ प्रविधि अपनाउने योजना रहेको कार्यालयले जनाएको छ। हाल तुइनखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ।

प्रकाशित: १ असोज २०८३ २०:०६ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast