त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक

हिमाल प्रेस १ असोज २०८३ ६:३९ | Thursday, September 17, 2026
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन र विमानतर्फ लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै हवाई आवागमन हुने क्षेत्र तथा विमानस्थल आसपास यस्ता गतिविधि नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

कार्यालयका अनुसार चङ्गा, ड्रोन तथा बेलुन उडाउने र विमानमा लेजर लाइट देखाउने जस्ता गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने जोखिम रहेको छ। त्यसैले यस्ता गतिविधि नगर्न तथा नगराउन सम्बन्धित व्यक्ति, संस्था र सर्वसाधारणलाई आग्रह गरिएको छ।

सूचनामा प्राधिकरणको निर्देशन अटेर गरी कसैले चङ्गा, ड्रोन, बेलुन उडाएको वा विमानतर्फ लेजर लाइट प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

विमानस्थलको सुरक्षित हवाई आवागमन सुनिश्चित गर्न यस्तो गतिविधि नियन्त्रण आवश्यक रहेको प्राधिकरणले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast