त्रिभुवन विमानस्थल, फाइल तस्बिर।
काठमाडौँ- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अस्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो। नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत ती चुरोट अस्ट्रेलिया पठाउन लागिएको खुलेको छ।
त्यसैगरी गौश्वारा हुलाक कार्यालय, डिल्लीबजारमार्फत सगुन खड्काले कमलराज कार्कीको नाममा अस्ट्रेलिया पठाउन लागेको कार्गो सामान परीक्षण गर्दा शंकास्पद देखिएको थियो। थप जाँच गर्दा ‘शिखर आइस रश’ चुरोट १५ बण्डल फेला परेको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार बरामद चुरोट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले अवैध रूपमा चुरोट विदेश पठाउन खोजिएको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


