चितवन- कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ। त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो।
सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो। नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकिने छ।
ग्राबेल र नालीको काम भइरहेको छ। उनले भने,‘साँझसम्ममा हामी सबै काम सक्छौँ। स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ। यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ।’
कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिने बताए।


