घरमै राहदानी लिन चाहने सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने

हिमाल प्रेस ३१ भदौ २०८३ १०:४९ | Wednesday, September 16, 2026
घरमै राहदानी लिन चाहने सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने

गोरखा-  घरमै राहदानी प्राप्त गर्न सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने भएको छ। त्यसबाहेक अन्य अतिरिक्त शुल्क नलाग्ने हुलाक कार्यालयले जनाएको छ । राहदानी लिनका लागि सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, ठेगानालगायतका आवश्यक विवरण हुलाक काउन्टरमा टिपाउनुपर्ने व्यवस्था छ ।

गोरखाका ५५० जनाले पाए घरमै राहदानी

जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५५० जनाले घरमै राहदानी (पासपोर्ट) प्राप्त गरेका छन्। गत वैशाख १५ गतेदेखि जिल्लाभर ६०० जनाले घरमै राहदानी प्राप्त गर्न फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाँकी राहदानी आउने क्रममा रहेको उनले बताए ।

गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी पुर्‍याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी घरमै पुर्‍याउने नीतिअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको हो ।

सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा हुलाक कार्यालयको एउटा काउन्टर स्थापना गरी कर्मचारी खटाइएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले बताए । राहदानीको फाराम भर्न प्रशासन कार्यालय आउने सेवाग्राहीले राहदानी कार्यालयबाटै लिने वा घरमै प्राप्त गर्ने विकल्प छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

घरमै राहदानी लिन चाहने सेवाग्राहीको आवश्यक विवरण हुलाकको काउन्टरमा टिपाउने गरिएको छ । राहदानी तयार भएर आएपछि सोही विवरणका आधारमा हुलाक कार्यालयले सेवाग्राहीको घरमै पुर्‍याउने गरेको गैरेले बताए ।

काठमाडौँबाट छापिएर आएका राहदानी जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई जिम्मा लगाएपछि जिल्लाभित्र कम्तीमा तीन दिनभित्र सेवाग्राहीको घरमा पुर्‍याउने गरिएको जिल्ला हुलाक अधिकृत गैरेले बताए । राहदानी बुझाएपछि हुलाक कार्यालयले रसिद बनाएर जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेको छ ।

जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा पनि घरमै राहदानी पुर्‍याउने सेवा सञ्चालन गरिरहेको छ । भौगोलिक विकटताका कारण चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाहेक अन्य स्थानमा घरघरमै राहदानी पुर्‍याउन भने कठिनाइ रहेको हुलाक कार्यालयले जनाएको छ ।

चुमनुब्रीमा पालिका केन्द्रसम्म राहदानी पठाउन सकिए पनि त्यसभन्दा माथिका बस्तीमा पुर्‍याउन आवश्यक जनशक्ति र स्रोतसाधनको अभाव रहेको गैरेले बताए । सरकारको नीतिअनुसार उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी सेवा सञ्चालन गरिएको उनले बताए ।

पालुङटार नगरपालिका, सहिदलखन र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीले घरमै राहदानी बुझिलिने गरेको जिल्ला हुलाक कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित: ३१ भदौ २०८३ १०:४९ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast