बसाइँ सर्दाको असीम पीडा मैले किताबमा पढेको थिएँ। लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास कलेजको पाठयक्रममा पढ्नुपर्थ्यो। त्यो किताब पढ्दा मेरा आँखा भिजेका थिए। मानिस आफ्नो थातथलो छाडेर लालाबालासहित कुम्लोकुटुरो बोकेर किन मुग्लान भासिँदा रहेछन् भन्ने कटु यथार्थको सजीव चित्रण ‘बसाइँ’ उपन्यासमा भेटिन्छ। त्यो पढ्दा मेरो भित्री मन कटक्क भाँचिन्थ्यो।
बसाइँ सर्नुको पीडा बसाइँ सर्नेहरुलाई नै थाहा हुन्छ। मान्छेलाई आफ्नो जन्मस्थल भन्दा प्यारो केही हुँदैन। आफू जन्मेहुर्केको, खाइखेली गरेको ठाउँ मान्छेले त्यतिकै चटक्क छाड्दैनन्। त्यस्तै बाध्यकारी अवस्थाबाहेक मान्छेहरू आफ्नो थातथलो छाडेर बसाइँ सर्दैनन्।
त्यस्तो जान्दाजान्दै, त्यस्तो थाहा हुँदाहुँदै कालान्तरमा म आफ्नो जन्मघरबाट बसाइँ सर्न विवश हुनु पऱ्यो। त्यसको मार्मिक कथा यस्तो छ :
परराष्ट्र सेवाबाट बिट मार्ने बेलामा म र मेरी श्रीमतीले लिएको साधारण राहदानीको म्याद २०२५ डिसेम्बरमा सकियो। विदेश भ्रमण गर्ने खासै सोख नभए तापनि केटाकेटीहरु विदेशमा भएकाले परिवारिक भेटघाटका लागि भए पनि हामीलाई एकएक थान नयाँ राहदानी नभई भएको थिएन।
राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सर्त सरकारले तेर्स्याएको थियो। हामीले त्यो परिचयपत्र लिदाँको दुःख र झमेला अझै बिर्सेका थिएनौँ। निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारी र तिनका परिवारलाई सिंहदरबार परिसरबाट राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने निर्णयबाट हामी उत्साहित भई त्यहाँ पुगेका थियौँ। तर त्यहाँ विभिन्न स्रोतबाट सिफारिस लिई आउनेको भीड देखेर हामी निस्सासिएका थियौँ। जेठ मासको गर्मीको दिन- दिनभर भोक प्यास सहेर बायोमेट्रिक दिएर घर फर्कँदा मलाई हनहनी ज्वरो आयो। त्यो समय कोरोना महामारीको दोस्रो लहर बल्ल साम्य भएको थियो। धन्न कोरोनाले गाँजेन!
त्यसरी दुःख गरेर प्राप्त गरेको राष्ट्रिय परिचयपत्र नयाँ राहदानी बनाउने बेलामा भने हाम्रो सुरक्षा कवच हुन सकेन। त्यस्तो अjस्था आउला भनेर हामीले कल्पनासम्म गरेका थिएनौँ।
२०८२ साल फागुन लागेपछि देश निर्वाचनमय भएको थियो। फागुन २१ को आसन्न निर्वाचनका लागि धेरै कर्मचारीहरू निर्वाचन स्थलमा खटिएका थिए। कार्यालयमा सेवाग्राहीको भीडभाड पनि कम थियो। त्यही मौका पारेर हामी बूढाबूढी राहदानी बनाउन बबरमहलस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालयतिर सोझियौँ। साथमा त्यही कार्यालयबाट हाम्रो नाममा जारी भएको नागरिकताको प्रमाणपत्र थियो अनि थियो राष्ट्रिय परिचयपत्र। त्यसमाथि हाम्रो पुरानो राहदानी पनि छँदै थियो। नयाँ राहदानीका लागि तिनै कागजात पर्याप्त हुन्थे।
हामी जिल्ला प्रशासन कार्यालय नजिकैको एउटा साइबर क्याफेभित्र छिऱ्यौँ जहाँ राहदानीको अनलाइन फाराम भरिन्थ्यो। राष्ट्रिय परिचयपत्र बनाउने बेलामा पनि त्यस्तै साइबर क्याफेमा छिरी फाराम भरेका थियौँ। त्यो हाम्रा लागि नयाँ कुरा थिएन। साइबरमा एउटी केटी फुर्सदिली भेटिइन्। झोलामा सुरक्षित राखेको डकुमेन्ट टेबुलमा पसारो पारेर भनेँ, ‘नानी, हामी इ-पासपोर्टको अनलाइन फाराम भर्न आएका।’
त्यस दिनको पहिलो ग्राहक फेला परेकोमा उनी उज्याली भइन्। उनले आदरपूर्वक भनिन्, ‘बुबाआमा, तपाईहरू बेन्चमा आराम गरेर बस्नुस्, म फटाफट एकैछिनमा अनलाइन फाराम भर्ने काम सिध्याउँछु। उनले कम्प्युटर खोलिन् र हाम्रो डकुमेन्ट रुजु गर्न थालिन्। तर एकैछिनमा मुख अमिलो पारेर उनले यसो भनिन्, ‘बुबा, तपाईँहरुको नागरिकताको प्रमाणपत्रमा स्थायी ठेगाना गोरखा रहेछ। राहदानी बनाउन गोरखा नै जानुपर्ने भयो। नभए बसाइँ सराइको कागज ल्याउनुपऱ्यो। म फराम त भरिदिन्छु तर तपाईँको तीन सय रुपैयाँ त्यसै खेर जान्छ। विश्वास नलागे जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाको कर्मचारीलाई सोध्न सक्नुहुन्छ।’
उनीसँग के प्रतिवाद गरिरहनु भनेर हामी ठाडै खुट्टा जिल्ला प्रशासन कार्यालय पुग्यौँ। त्यहाँका राहदानी फाँटका कर्मचारी फुर्सदिला रहेछन्। सेवाग्राही खासै थिएनन्। हामीले हाम्रो समस्या बतायौँ। उनले पनि त्यही कुरा दोहोऱ्याए जुन साइबरमा काम गर्ने केटीले भनेकी थिइन्। तर मेरो मनले मानेन अनि यस्तो भनेँ, ‘हेर्नुस्, म त्यही राहदानी जारी गर्ने मन्त्रालयबाट अवकाश प्राप्त कर्मचारी हुँ। यसअघिका हाम्रा कूटनीतिक तथा साधारण राहदानी उसैले बनाइदिएको हो। नागरिकताको प्रमाणपत्र तपाईंकै अड्डाले दिएको हो। त्यहाँभन्दा बढी प्रमाण के चाहियो?’
उनी सामान्य स्तरका कर्मचारी थिए। निर्णय गर्ने तहमा थिएनन्। ‘हामी त नियममा जे छ त्यही गर्ने हो, सर। तपाईंकै मन्त्रालयले बनाएको नियम हो। तत्काल जरुरी भए त्रिपुरेश्वरबाट डबल दस्तुर तिरेर लिए भइहाल्यो नि’, उनले बनिबनाउ उत्तर दिएँ।
त्यस बेला मैले तीन दशक काम गरेको संस्थाको प्रशासनिक नेतृत्व हाँक्ने हाकिमहरूप्रति चरम वितृष्णा जाग्यो। राहदानी नियमावली बनाउँदा परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारीको हकमा कमसेकम यति त नियममा समावे गर्न सक्थ्यो-
‘परराष्ट्र सेवामा कार्यरत तथा सेवा निवृत कर्मचारी तथा तिनका परिवारको राहदानी साधारण शुल्क लिई राहदानी विभागबाट जारी गरिनेछ।’
त्यो कुनै नाजायज सुविधा थिएन। वर्षौँ काम गरेका त्यहाँका कर्मचारी तथा तिनका परिवारमा संस्थाप्रति अपनत्व जगाउने त्यो पनि एउटा माध्यम हुने थियो। त्यति पनि गर्न नसक्ने परराष्ट्रका प्रशासनिक नेतृत्वप्रति मलाई टीठ लागेर आयो।
अब मसँग दुई विकल्प बाँकी थिए- महँगो शुल्क तिरेर राहदानी विभागबाट राहदानी लिने वा जन्मथलोबाट बसाइँ सराइको कागज ल्याउने। तीन दशक लामो अवधि काम गरेको मन्त्रालयबाट डबल दस्तुर तिरी राहदानी लिनु भनेको सजायजस्तै लागेर बरु बसाइँ सराइको कागज लिन्छु भनेर म त्यतातिर लागेँ।
त्यस निर्णयले मलाई धेरै दिनसम्म क्षतविक्षत तुल्यायो। म कतिसम्म विचलित हुन पुगेँ भने हाम्रो जिजुबाजे भक्तपुरबाट त्यस बेलाको गोरखाको एउटा अनकन्टार गाउँमा कुम्लोकुटुरो र लालाबालासहित किन बसाइँ सरे होलान् भन्ने प्रश्नले मलाई धेरै दिनसम्म खेदिरह्यो।
भक्तपुरको सिद्धपोखरीबाट दरबार स्क्वायरबाट जाने मूल सडकको नाम इटाछेँ टोल हो। काठमाडौँको इन्द्रचोक, असन भने झैँ भक्तपुरको मुख्य व्यापारिक केन्द्र त्यही टोल थियो। तेलिया इँटले बनेका घरहरुको टोल भएकोले त्यो ठाउँको नाउँ इटाछेँ टोल रहन गएको बुझ्न गाह्रो छैन। हाम्रा पितापुर्खाको घर त्यही टोलमा थियो।
इटाछेँ टोलको व्यापारिक घरानाका कारण हाम्रा पुर्खा पक्कै पनि भक्तपुरको कुलीन नेवार समुदायमा गनिन्थे। हुँदोखाँदोको थातथलो छाडेर हाम्रा जिजुबाजे गोरखाको अनकन्टार ठाउँमा किन बसाइँ सरे होलान्? भक्तपुरको मुटुमा रहेको जन्मथलो छाडेर ३/४ दिनको बाटो हिँडेर गोरखाको त्यो निर्जन ठाउँ किन रोजे होलान्? झिटीगुन्टा बोकेर आइमाई केटाकेटीलाई डोर्याउँदै, उकाली ओराली गर्दै, खोलानाला तरेर धेरै दिनको हिँडाइपछि त्यस एकलासे डाँडामा भारी बिसाउन के बाध्यता आइलागेको हुँदो हो?
मानिस सजिलै आफ्नो जन्मघर छाड्दैनन्। त्यतिकै मान्छे मुगलान भासिँदैनन्। कोहीकोही मात्र अवसरको खोजीमा रहरले घर छाड्छन्, धेरै त कहर र बाध्यताले जन्मघर छाड्ने हो। त्यतिखेर काठमाडौँ उपत्यकाको चारभन्ज्याङ काट्नु भनेको पनि मुगलान पस्नुसरह थियो। हाम्रा जिजुबाजेलाई आफ्नो जन्मथलो छाड्नुपर्ने त्यस्तो के अवस्था आयो होला? वा भक्तपुरको घरमा टिक्न नसक्ने के बाध्यता आइपर्यो होला?
ती प्रश्नको उत्तर नपाएर म धेरै दिनसम्म छटपटिएँ। जसरी हाम्रा जिजुबाजे भक्तपुरमा टिक्न नसक्ने अवस्था आइलागेर गोरखा बसाइँ सर्न बाध्य भएका थिए होलान्, मलाई भने एउटा सामान्य कागजको झ्याउलोमा परेर आफ्नो जन्मस्थानबाट उल्टो बसाइँ सर्नुपर्ने अवस्था आएको थियो।
त्यसो त, जन्मस्थलबाट अन्त सर्ने क्रम म सानै छँदादेखि सुरु भएको थियो। तर त्यो स्थायी बसाइँ सराइ थिएन। म पाँच वर्षको उमेर छँदा एकसरो परिवारको गुजारा धान्न नसकेर बुबाआमाले हामी लालाबाला लिएर गामबाट बेसी झर्नुभएको थियो। गामबाट बेसी झर्दा मैले धेरै कुरा गुमाएँ। धुलोमा सँगै लडिबुडी गरेर खेल्ने मेरा बालसखा त्यतै छुटे। मैले कखरा पढेको प्यारो स्कुल पनि त्यतै छुट्यो। त्यो भन्दा पनि म जन्मेको घर, म सुत्ने दलान, मैले खेल्ने आँगन गाममा नै छुटे।
बेसीमा मेरो आफ्नो भन्ने कोही थिएनन्। बेसीमा हामी धन्सारमा बसेर गुजारा चलाइरहेका थियौँ। गामको जस्तो दुईतले घर थिएन। गामको भीमसेनस्थानको पटांगिनीमा खेल्ने दौँतरी पनि थिएनन्। बेसी झर्नुपर्दा मैले आफूलाई नितान्त एक्लो अनुभव गर्थेँ। त्यसैले मौका पाउनासाथ बेसीबाट गाम जानेको पछि लागेर म गामतिर दौडिहाल्थेँ। कयौँ दिनसम्म आफन्तकहाँ बसेर निष्फिक्री गाम डुलिरहन्थेँ।
सधैँ त्यसरी त गुजारा चल्दैनथ्यो। बेसीको धन्सारमा नझरी धर थिएन। म केही दिन नहुँदा भाइबहिनी पनि नियास्रिन्थेँ। बेसीको स्कुलको पढाइ पनि छुट्थ्यो। आमाले सातो लिनुहुन्थ्यो। त्यसरी समयक्रममा आफू जन्मेको ठाउँबाट म बिस्तारै टाढिँदै जान थालेँ। तर आफू जन्मेको ठाउँको सम्झना कहिल्यै नमेटिने रहेछ। आफूले बिताएको बाल्यकालका दिनको सम्झना कहिल्यै टुट्दो रहेनछ।
गामबाट बेसी झरेको केही वर्षपछि नौ वर्षको कलिलो उमेरमा मैले फेरि घर छाड्नुपऱ्यो। बेसीको फुसको छाना भएको स्कुलमा पाँच कक्षा पास गरेपछि माध्यमिक तहको पढाइका लागि आमाको हात समातेर म बन्दिपुर गएँ। त्यहाँको भानु हाइस्कुलमा चार वर्ष पढ्दा बन्दिपुर मेरा लागि दोस्रो घरजस्तै भयो। म फेरि आफ्नो जन्मघरबाट टाढिएँ। दसैँ र मीनपचासको बिदाका बेला म खोलाघाट र सतीघाटको डुंगा तरेर घर आउथेँ। बिदा सिद्धिएपछि मलाई बन्दीपुर फर्कन ठूलो सकस हुन्थ्यो। खासगरी भाइबहिनीको मायाले सताउँथ्यो।
मैले चौध वर्षको कलिलो उमेरमा २०२६ सालमा एसएलसी पास गरेँ। एसएलसीलाई फलामे ढोका पनि भनिन्थ्यो। त्यो ढोका पार गरेपछि मात्र उच्चशिक्षाको ढोका खुल्थ्यो। पृथ्वी राजमार्गको निर्माणसँगै मेरो पनि भविष्यको रेखा कोरिएको हो। चीन सरकारको सहयोगमा निर्माणधीन त्यस राजमार्गले त्यतिखेर भर्खर पाइलट ट्रयाकका रूपमा नौबिसेदेखि पोखरा छिचोलेको थियो। राजमार्गको धूले कच्ची सडकमा सडक निर्माणको सामान बोकेर ओहरदोहर गर्ने चाइनिज डम्प ट्रक (जसलाई चलनचल्तीमा डम्फर भनिन्थ्यो) को पछाडि बसेर हामी बाउछोरा धुलाम्मे भएर नौबिसेसम्म आयौँ। त्यसपछि त्रिभुवन राजपथ (बाइरोड) बाट आएको अर्को मालवाहक ट्रकले हामीलाई थानकोट ल्याएर छाडिदियो।
नागढुंगा प्रवेश गरेपछि मैले पहिलो पटक काठमाडौँ सहरको दृश्य आँखामा कैद गर्न पाएँ। जेठ महिनाको भतभत पोल्ने गर्मीमा उपत्यका छिरेपछि चिसो हावाले स्वागत गऱ्यो। थानकोट आइपुग्दा साँझ पर्न लागेको थियो। त्यहाँबाट सहर आउने सवारीसाधन पाइएन। त्यतिखेर थानकोट सहरबाट टाढा काँठजस्तै थियो। बस फाट्टफुट्ट मात्र चल्थे। सहरतिर लाग्नुपऱ्यो भने मानिस प्रायः हिडेरै जान्थे।
थानकोटदेखि सहरसम्मको सडक पनि साँघुरो थियो- त्यही पनि इँटा ओछ्याएको। राणाको पालामा तिनका सुखसुविधाका लागि भीमफेदीदेखि भरियाले बोकी ल्याएका मोटर गुड्ने त्यो सडक धेरैपछि सम्म स्तरोन्नति नभई त्यही अवस्थामा देख्दा म छक्क परेँ। त्यही सडकबाट हामी बाउछोरा लखरलखर हिँड्दै कालीमाटीसम्म आउँदा रात परिसकेको थियो। कालीमाटी चोकनिरको एउटा चमेनागृहमा चियाचिउरा खायौँ, अनि सुकुलमा सुतेर त्यहीँ रात काट्यौँ। त्यो बाटो ओहोरदोहर गर्दा काठमाडौँमा मलाई बास दिने त्यो पहिलो घरको जहिल्यै याद आउँछ।
काठमाडौँमा कलेज पढ्न बस्दा घरसँगको भौतिक दुरी टाढा भए तापनि आत्मीय सम्बन्ध झन् गाढा थियो। बुबाले थुकतेल गरी जम्मा गरेको पैसाले म काठमाडौँमा गुजारा चलाउँथेँ। घरबाट आउने दालचामलले मेरो महिनाको रासन धान्दथ्यो। दसैँ बिदा र मीनपचासको छुट्टी कहिले आउला भनेर म दिन गनेर बस्थेँ। दसैँ बिदा आउन पाएको हुन्थेन, थाहै नपाई सकिइहाल्थ्यो। घरमा दुई साता रमाइलोसँग बिताउन पाएको हुन्थिनँ, काठमाडौँ जाने बसको छतमा बसेर चिसो सिरेटो खाँदै राजधानी फर्कन परिहाल्थ्यो।
मीनपचासको छुट्टीमा भने म आङ फुकाएर घरमा बिदा मनाउन पाउँथेँ। हिउँदको दिन- घरमा खासै काम हुन्थेन। काम भए पनि बुबाआमाले सिन्कोसम्म भाँच्न दिनुहुन्थेन। लाठसाहेब पल्टेर हिउँदको न्यानो घाम तापेर दिन बिताउँथेँ। आँगनमा घाम ताप्दै सिंग उखुको ढाँक चपाउने मेरो दैनिकी हुन्थ्यो। उखु पेल्ने बेलामा खुदो पकाउने आगोको रासमा उखुको ढाँक पोल्न राखिन्थ्यो। त्यसरी पोलेको ढाँक ढुंगामा पड्काउँदा आउने बन्दुकको जस्तो आवाज खुब रमाइलो लाग्थ्यो। पोलेको उखुको ढाँक चुस्नुको आनन्द पनि अर्कै। तामाको ठूलो ताउलोमा पकाउन राखेको खुदो फतफत पाकेपछि हामी जिब्रो पोल्ने तातो खुदो बटुकोमा राखेर चिया जस्तै पिउथ्यौँ। ती दिन सम्झँदा अहिले सपनाजस्तै लाग्छ।
मैले कलेजको अध्ययन पूरा गरेपछि अधिकृत स्तरको जागिरमा प्रवेश गरेँ। मेरो पहिलो पोस्टिङ पोखरामा भएको थियो। एक हिसाबले मेरा लागि त्यो घरपायकको जागिर थियो। महिनाको एकपल्ट घर पुगेकै हुन्थेँ। मैले जागिर खाएपछि घरखर्च धान्न बुबालाई केही भरथेग भयो। त्यही आडमा बुबाले बेसीमा नयाँ घर बनाउने आँट गर्नुभयो। त्यही नयाँ घरमा २०३७ सालमा नयाँ दुलहीका रूपमा मेरी श्रीमती भित्रिएकी थिइन्। हामीले अँगालोमा बेरिएर सुहागरात मनाएको त्यो घरको सुत्ने कोठाको सुगन्ध अहिले पनि मेरो सम्झनामा उत्तिकै ताजा छ। हाम्रो दाम्पत्य जीवन थालनी भएको मेरो प्यारो घरलाई म कसरी बिर्सन सक्छु र!
विवाहको केही महिनापछि मेरो काठमाडौँमा सरुवा भयो। सत्र वर्षकी कलिली श्रीमतीलाई बाबुआमाको जिम्मामा घर छाडेर म एक्लै काठमाडौँ आएँ। चार वर्ष घरमा बस्दा उनले आमाको हातबाट घरव्यवहारको अमूल्य तालिम प्राप्त गरिन्। त्यस अर्थमा त्यो घरको माया मलाई भन्दा उनलाई झन् बढी छ।
समय अन्तरालमा मेरो कर्मथलो काठमाडौँ हुन पुग्यो। २०३९ सालमा परराष्ट्रमा नाम निस्केपछि घरसँगको मेरो भौतिक सम्बन्ध बिस्तारै पातलिन थाल्यो। भौतिक सम्बन्ध टाढिए पनि आत्मीय सम्बन्धमा कहीँकतै कमी आएन। विदेशमा चार बर्ष पोस्टिङमा जाँदा घरको यादले सताइरहन्थ्यो।
मेरो पहिलो विदेश पोस्टिङ २०४७ सालमा मस्कोमा भएको थियो। चार वर्ष त्यहाँ बसेर नेपाल फर्केपछि मलाई कहिले घर जाऊँ भन्ने हतार भएको थियो। घरको आँगनमा टेक्नेबित्तिकै मैले बेग्लै सुवासको अनुभुति गरेँ। त्यहाँ बुबाआमाको मायाममता थियो। माटोको सुगन्ध थियो। मैले बालापनमा रमाउँदै उफ्रने चउर थियो। आँपको बगैँचा थियो। दिनभर आँखा रातो हुने गरी मैले पौडी खेल्ने जुडीखोलाको रह उस्तै थियो। मेरा लागि घर पहिला जस्तो थियो, अहिले पनि त्यस्तै थियो।
समय आफ्नै सुरमा बग्दै गयो। समयको गतिसँगै जन्मघरसँगको मेरो सम्बन्ध बिस्तारै पातलिँदै गयो। परराष्ट्रको तीन दशकको जागिरमा आधाउधी समय त मैले विदेशमा बिताएँ। त्यसकारणले गर्दा पनि जन्मथलोसँगको भौतिक दुरी बढ्न गएको थियो। त्यति हुँदाहुँदै पनि घरप्रतिको मेरो माया उस्तै अगाध थियो। विदेशबाट फर्कनेबित्तिकै घर पुगेकै हुन्थेँ। काठमाडौँमा छँदा पनि फुर्सद मिलाएर बस समातेर घरतिर दौडिहाल्थेँ।
त्यसरी हृदयको अन्तरकुन्तरमा सुरक्षित रहेको जन्मस्थलबाट कुनै दिन बसाइँ सर्न पर्ला भनेर मैले कल्पनासम्म गरेको थिइनँ। तर त्यही एकथान राहदानी बनाउन बसाइँ सराइको कागजको अड्कोले गर्दा मेरो त्यति प्यारो जन्मघरबाट पराइ बनाउने स्थिति आइलागेको थियो। अन्ततः मैले आफूसँग भएका सबै कागजात- नागरिकताको प्रमाणपत्र, जग्गाधनी पुर्जा अनि राष्ट्रिय परिचयपत्रको प्रतिलिपिसहितको निवेदन गोरखा पालुङटारको आफ्नो वडा कार्यालयमा पेस गरेपछि बसाइँ सराइको सिफारिसपत्र तयार भयो।
त्यसबखत मेरो मन कटक्क भाँचियो। जन्मथलोसँगको साइनो टुटेकोमा मैले आफूलाई निरीह अनुभव गरेँ। मन त दुखेकै थियो, थोरै रिस पनि उठ्यो। रिस यस अर्थमा कि नेपाली नागरिकता भएको मान्छे नेपाल सरहदभित्र जहाँ बसे पनि, जे व्यवसाय गरे पनि कसैको टाउको दुखाइको विषय हुनुनपर्ने थियो। बसाइँ सराइको कागजको के अर्थ? तर हाम्रा कुरा कसले सुन्ने? त्यस्तो काइते नीति नियम बनाउनेलाई पनि के भन्ने? त्यो त पाइलापाइलामा नागरिकलाई हुर्मत लिने काम थियो।
म पनि त्यही हुर्मत लिइनेको हुलमा थपिएँ।
बसाइँ सराइको त्यही चिर्कटो लिएर हामी काठमाडौँको सम्बन्धित वडा कार्यलय धाउन पुग्यौँ। शुक्रबारको दिन पारेर बिहान १० बजे वडा कार्यालयमा दाखिल भयौँ। सेवाग्राहीको भीडभाड थिएन। त्यहाँ पनि लम्बेतानको फाराम भर्नुपऱ्यो। सबै कागजको सक्कल नक्कल रुजु गरेर वडा सचिवले तोक लगाइदिए। बल्ल हाम्रो काम प्रोसेसमा गयो। त्यहाँ कम्युटरमा काम गर्ने एकजना महिला कर्मचारीले सबै विवरण कम्युटरमा भरिन्। अनि त्यसमा सचिवले सहीछाप गरे पछि तयार भयो – हाम्रो बसाइँ सराइको प्रमाणपत्र।
बसाइँ सराइको त्यही खोस्टो कागज लिएर हामी बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयतिर सोझियौँ। बाटोमा लस्करै साइबर क्याफे थिए। त्यहाँ पुग्न पाएका थिएनौँ, पहिलो पसलको मान्छेले रोकिहाले। साइबरमा त्यति सेवाग्राही थिएनन्। हाम्रो अनलाइन फाराम भर्ने काम पाँच मिनेटमा सकियो।
त्यही फाराम बोकेर जिल्ला प्रशासन कार्यालयतिर लाग्यौँ। भर्खर चुनाव सकिएकोले हो वा शुक्रबारको दिन परेर हो, त्यहाँको राहदानी शाखामा सेवाग्राहीको खासै भीड थिएन। हाम्रो काम फटाफट भयो। राहदानी फाराम रुजु गर्ने कर्मचारीले मेरो अनुहार बिर्सेका रहेनछन्। ‘बुबालाई एक हप्ताअघि मात्र भेटेको, कति चाँडै बसाइँ सराइको कागज बनाएर ल्याउनुभएछ’, उनले भने।
त्यही एक थान राहदानीका लागि जन्मथलोसँगको नाता टुटाउनुपरेकोमा मन फेरि एकपटक कटक्क भाँचियो। त्यही एउटा कागजले जन्मघर सँगको मेरो सम्बन्ध टुट्ने भयो। त्यही कागजको टुक्राले आफू खाइखेली हुर्केको ठाउँबाट मलाई पराइ बनाउने भयो। अब मैले आफूलाई छाती फुलाएर गोरखाली भन्न नपाउने भएँ। गोरखासँगको मेरो जन्मजात नाता त्यही एउटा बसाइँ सराइको कागजले टुटाउने भयो। त्यसबेला मलाई यस्तो पनि लाग्यो – अहिले पनि त्यस्तै काइते नियम हुँदो हो त राष्ट्रनिर्माता बडामहाराधिराज पृथ्वीनारायण शाहले पनि गोरखाबाट काठमाडौँ बसाइँ सराइको कागज लिनुपर्दो हो।
संसार कहाँबाट कहाँ पुगिसक्यो। सूचना प्रविधिले कल्पना नै गर्न नसकिने गरी छलाङ मारिसक्यो। हाम्रो भने काम गर्ने त्यही काइते पारा छ। सय थरीका नियमकानुनले पाइलैपिच्छे नागरिकले दुःख पाइरहेका छन्। बसाइँ सराइको कागज त एउटा सानो उदाहरण मात्रै हो।
म त भन्छु – बसाइँ सराइको त्यस्तो काइते नियम बनाउनेले एकपल्ट लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास राम्ररी पढुन्। तब बसाइँ सराइको पीडा बल्ल थाहा हुनेछ चाहे त्यो कागजमा मात्र किन नहोस्।
ती नियमकानुन बनाउनेलाई थाहा हुनुपर्ने हो – नेपाली नागरिक नेपालभित्र जहाँ जन्मे पनि देशको जुनसुकै ठाउँमा स्थायी, अस्थायी रुपमा बसोबास र पेसा गर्न पाउने उसको मौलिक अधिकार हो। उदाहरणका लागि – धरानको मान्छे धनगढीमा बसोबास गुरून् वा स्याङ्जाको मान्छे सर्लाहीमा – त्यो उनको नैर्सगिक हक हो। उनीहरूसँग नागरिकताको प्रमाणपत्र छन्, मतदाता परिचयपत्र छन्, राष्ट्रिय परिचयपत्र पनि छन्, कतिको जग्गाधनी पुर्जा पनि होला। बत्ती पानीको उपभोक्ता नम्बर खुलेको बिल पनि होला। जहाँ बसे पनि एकजना व्यक्ति एकपटकमा एउटा ठाउँमा बस्ने हो। त्यतिको प्रमाण पेस गर्दा पनि बसाइँ सराइको कागज किन चाहियो?
त्यही प्रश्नको उत्तर नपाएर मजस्ता धेरै नागरिक मर्माहित भएका छन्।
अब त आशा गरौँ, त्यस्ता कतिपय असान्दर्भिक अनि तुक न बेतुकका काइते सरकारी नियमलाई समयसापेक्ष र नागरिक मैत्री बनाउने सन्दर्भमा शीघ्र पहलकदमी हुनेछ।




