फाइल तस्बिर : एपी/रासस
काठमाडौँ– मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजार भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ।
तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकांकहरू उकालो लागेका हुन्।
एस एन्ड पी ५०० सूचकांक ०.३ प्रतिशतले बढ्दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल भयो। त्यस्तै डाउ जोन्स औद्योगिक औसत ४६ अंक (०.१ प्रतिशत) ले बढ्यो भने न्यास्ड्याक कम्पोजिट पनि ०.४ प्रतिशतले उकालो लागेर नयाँ रेकर्ड कायम गर्यो।
अमेरिका–इरानबीचको संघर्ष र युद्धविरामसम्बन्धी अनिश्चितताले ऊर्जा बजारमा असर पारेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४.२ प्रतिशतले बढेर प्रति ब्यारेल ९४.९८ डलर पुगेको छ। यो मूल्य अघिल्लो हप्ताको गिरावटको केही हिस्सा पुनः फिर्ता भएको हो।
विश्लेषकहरूका अनुसार युद्ध सुरु हुनुअघि कच्चा तेलको मूल्य करिब ७० डलरको आसपास थियो, तर पछिल्लो तनावपछि मूल्य उच्च स्तरमै रहन थालेको छ। यसले विश्वव्यापी महँगी (मुद्रास्फीति) बढाउने दबाब सिर्जना गरेको छ, जसले ऋणको ब्याजदर र वित्तीय बजारमा पनि असर पारिरहेको छ।
तेलको मूल्य बढ्दा उड्डयन क्षेत्रका कम्पनीहरू भने दबाबमा परेका छन्। इन्धन खर्च बढ्ने चिन्ताले केही एयरलाइन्स कम्पनीहरूको सेयर मूल्य घटेको छ।
यद्यपि दिनको अन्त्यतिर तेलको मूल्य केही स्थिर भएपछि बजारमा दबाब कम भयो र साना कम्पनीहरूको सूचकांक समेत स्थिरतर्फ फर्कियो।
विश्लेषकहरूले लगानीकर्ताहरू अझै पनि अमेरिका र इरानबीच सम्भावित सहमतिबाट होर्मुजमार्फत तेल आपूर्ति सहज हुने आशामा रहेको बताएका छन्। आपूर्ति सहज भएमा ऊर्जा मूल्य घट्ने र मुद्रास्फीति दबाब कम हुने अपेक्षा गरिएको छ।–रासस




