काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही फागुन १९ बाट सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्दैछ। लिग तयारीबारे जानकारी दिन एन्फाले गत साता पत्रकार सम्मेलन आयोजना गर्यो। जहाँ उठेका केही महत्त्वपूर्ण सवालमध्ये एक थियो, खेलाडी पलायन।
राष्ट्रिय टिममा परिसकेका र घरेलु फुटबलमा स्थापित भइसकेका अधिकांश खेलाडी विदेश पलायन भएका छन्। यो सिलसिला रोकिने संकेत छैन। केही दिनअघि पनि घरेलु फुटबलमा उदाइरहेका रितिक खड्का अस्ट्रेलिया लागे। अधिकांश खेलाडीको रोजाइमा अस्ट्रेलिया छ। कारण त्यहाँ रहेका नेपाली क्लब र नेपाली समुदाय हुन सक्छन्।
पछिल्लो दुई वर्षमा ५० भन्दा बढी खेलाडीले देश छाडिसकेका छन्। भलै यो आधिकारिक तथ्यांक हाेइन। तर प्रश्न उठ्नु स्वाभाविक थियो, के लिगका १४ क्लबलाई पुग्ने खेलाडी नेपालमा बाँकी छन्?
एन्फाका महासचिव किरण राईको जवाफ थियो, ‘सबै क्लबका लागि खेलाडी पर्याप्त छन्।’ तर उनको यो भनाइसँग क्लब सहमत छैनन्। तब त उनीहरूले विदेशी खेलाडीको कोटा बढाउन माग राखे। जसलाई एन्फाले इन्कार गरेन।
अब यसपालिको लिगको प्रत्येक क्लबले पाँच विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। तीमध्ये एक दक्षिण एसियाली हुनुपर्नेछ। र पाँचमध्ये चार खेलाडीलाई मैदान उतार्न पाइनेछ। विगतमा एक दक्षिण एसियालीसहित चार विदेशी खेलाडी अनुबन्ध गर्न पाइने नियम थियो।
बढ्दो खेलाडी पलायनका कारण सबैले बुझेका तथ्य थियो, अब घरेलु फुटबलमा खेलाडीको अभाव हुनेछ। उसै पनि नेपाली फुटबलमा पहिलाबाटै खेलाडीको अभाव थियो। विशेषगरी ‘म्याच विनर’ खेलाडीको। त्यसैकारण विभागीयबाहेकका क्लबको ध्यान अफ्रिकी खलाडी अनुबन्ध गर्नेमा हुन्थ्यो।
रेलिगेसन टार्न होस् वा उपाधि दौडमा आफूलाई बलियो साबित गर्न, आस अफ्रिकी खेलाडीकै हुन्थ्यो। सार्वजनिक रूपमै प्रशिक्षक, क्लब व्यवस्थापक भन्ने गर्थे, ‘अंकतालिकामा हामी कहाँ हुन्छौँ भन्ने निर्क्योल हामीले ल्याउने विदेशी खेलाडीको स्तर र संख्याले गर्नेछ।’
विश्व फुटबलमा चलिआएको चलन हो, फुटबल नियमन गर्ने काम संघको अनि खेलाडी उत्पादन गर्नेचाहिँ क्लबहरू। नेपालमा खेलाडी उत्पादनमा भूमिका एन्फाको पनि छ। यसको कारण अरू केही नभएर एन्फा एकेडेमी सञ्चालन हो। लामो समय एन्फा एकेडेमीकै उत्पादनले राष्ट्रिय टिम धाने। क्लब फुटबलमा पनि स्टार एन्फा एकेडेमीकै उत्पादन हुने गर्थे।
पछिल्ला दिनमा एन्फा एकेडेमीको खेलाडी उत्पादन क्षमतामा ह्रास आएको छ। एन्फाको ललितपुर, बुटवल र धरानमा रहेका एकेडेमीले पछिल्लो समय पर्याप्त खेलाडी उत्पादन गर्न सकेका छैनन्। जति खेलाडी उत्पादन भएका छन्, ती कता पुगे, यसको केही लेखाजोखा छैन। ती सबै खेलाडी घरेलु फुटबलमै व्यस्त भए भने पनि तिनले लिग धान्न सक्ने अवस्था छैन।
ए डिभिजन लिग खेल्ने सबै क्लब काठमाडौँ उपत्यकाका हुन्। दुईचार किलोमिटरकै फरकमा क्लबहरूको अस्तित्व छ। अधिकांश क्लबसँग आफ्नो मैदान छैन, जहाँ उनीहरूले अध्यास गर्न सकून्। न मैदान न त फुटबल क्यालेन्डर। फुटबल क्यालेन्डर नभएपछि नियमित अभ्यास हुने सम्भावना रहेन। अभ्यास नभएपछि खेलाडी त्यही क्लबसँग रहिरन आवश्यक हुँदैन। न त क्लबले नै लामो करार सम्झौता प्रस्ताव गर्ने गरेका छन्।
नेपालमा फुटबलको विकास कसरी गर्ने भन्ने बहस चल्दा धेरैजसोले रंगशाला अभावको कुरा निकाल्छन्। अन्तर्राष्ट्रिय फुटबल गराउन नेपालसँग भएको रंगशाला त्यही दशरथ रंगशाला हो। जहाँ फुटबल मात्र हुँदैन। हुन त अहिले पोखरा रंगशाला पनि थपिएको छ। तर ‘फ्लडलाइट’ बिनाको त्यो रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सम्भव छ कि छैन? संशय छ।
तर घरेलु फुटबल उँभो लगाउन रंगशालाभन्दा पहिले पर्याप्त अभ्यास मैदान चाहिएको छ। ‘ए’ डिभिजन लिगका प्रशिक्षकहरूको गुनासो यही हुने गरेको छ, अभ्यास गर्न मैदान छैन। यसपालि पनि यो समस्या देखिनेछ। उसो त काठमाडौँ उपत्यका वरपर खोजे मैदान भेटिन्छ नै। काठमाडौँ महानगरका बाहिरी क्षेत्रमा रहेका विभिन्न नगरपालिकासँग समन्वय गरे मैदान भेटिने सम्भावना छँदैछ। ‘सिटी सेन्टर’ मै मैदान चाहिने भए त अर्कै कुरा।
केही वर्षअघि एन्फाले ए डिभिजन लिगका प्रत्येक क्लबलाई एकेडेमी सञ्चालन गर्न अनिवार्य गर्यो। एसियाली फुटबल महासंघ एएफसीको क्लब लाइसेन्सिङमा सहभागी हुन एकेडेमी चाहिने भएपछि सबै क्लबले एकएक विद्यालय समाते, तिनलाई नै एकेडेमी बनाए। ती कागजी एकेडेमीले खेलाडी उत्पादन गर्ने कुरै भएन।
क्लब सञ्चालन गर्ने तर खेलाडी उत्पादन नगर्ने वा गर्न नसक्ने। क्लब खेलाडी उत्पादन गर्न सक्दैनन् भने खेलाडी उत्पादन गर्ने कसले? एकछिनलाई मनिलिऊँ, नेपाल फुटबल भनेपछि हुरुक्कै हुने हुने देश हो, जहाँ टोलटोलमा, गाउँगाउँमा, सहरसहरमा फुटबल छ। खेलाडी स्वत:स्फूर्त उत्पादन भइरहेका छन्।
अब ती खेलाडीलाई काठमाडौँ ल्याउने काम कसको? देशभर स्काउटिङ कसले गर्ने? जबकि स्थानीय स्तरमा भएका बग्रेल्ती क्लब र जिल्ला संघसँग मिलेर काठमाडौँका क्लबले प्रतिभा पहिचान गर्न सक्छन्, ट्रायल आयोजना गर्न सक्छन्। यतातिर न एन्फाको न त क्लबहरूकै ध्यान गएको छ। न त आफैँ खेलाडी उत्पादन गर्ने न त खेलाडी स्काउटिङमै जाने, घरेलु फुटबल सञ्चालन गर्न यो जत्तिको बेकामे ‘मोडल’ सायदै छ।
अहिले यस्तो अवस्था आयो, नेपाली फुटबलको स्टार को भन्ने प्रश्न गर्यो भने घोत्लिनुपर्छ। स्टारको संख्या धेरै भएर होइन, बरु स्टार भन्न मिल्ने खेलाडी नभएर। हाल आई–लिग खेलिरहेका अन्जन विष्टलाई स्टार मान्न सकिएला। तर के उनी ‘क्राउड पुलर’ हुन्। यसमा संशय छ। पछिल्लो समय मोफसलका प्रतियोगिता फिक्का साबित हुनुको मुख्य कारण स्टार खेलाडीको अनुपस्थिति हो।
फुटबलको माहोल सिर्जना स्टार खेलाडीको आवश्यक पर्छ नै। सबै क्लबसँग कम्तीमा एकएक जना पोस्टर ब्वाई हुनैपर्छ। यो स्थापित मान्यता हो। यो मान्यतालाई लिएर प्रश्न भए, विश्व फुटबल, युरोपेली क्लब फुटबल सम्झिऊँ।
‘ए’ डिभिजन लिग सुरु हुन एक महिना पनि बाँकी छैन। यतिबेला सबै क्लबले आआफ्ना टिम सार्वजनिक गरिसक्नुपर्ने हो। आआफ्ना टिममा भएका स्टारको पोस्टर बनाएर सामाजिक सञ्जाल पोत्नुपर्ने हो। प्रत्येक क्लबले मुख्य प्रायोजकदेखि जर्सी प्रायोजकसम्म धमाधम घोषणा गर्नुपर्ने हो। तर फुटबलको माहोल फर्काउने यस्ता कामतर्फ कसको ध्यान गएको छ र ?
दुर्भाग्य मान्नुपर्छ, नेपालमा स्टार खेलाडीको उत्पादन प्रक्रिया ठप्प भएको निकै भयो। राष्ट्रिय टिम सम्हाल्न आएका प्रशिक्षक यो प्रक्रियाको बाधक बने। बन्द प्रशिक्षणमा सामेल भएका खेलाडीलाई सञ्चारमाध्यमसँग बोल्न नदिँदा खेलाडीको ‘स्टारडम’ सिर्जना हुन सक्दैन भनेर न प्रशिक्षकले ख्याल गरे। न त ती प्रशिक्षकलाई काँधमा राखेर हिँडिरहेको एन्फाले विचार गर्यो। त्यसबेला गरिएको त्यो निर्णयको प्रभाव आउँदा कयौँ वर्षसम्म रहने निश्चित छ।