भारतबाट नेपाल उक्लिएका एनिस

हिमाल प्रेस १७ फागुन २०७९ २२:०८
164
SHARES
भारतबाट नेपाल उक्लिएका एनिस

काठमाडौँ- भारतीय क्लब फुटबलमा दुई वर्ष बिताएका भिन्सेन्जो अल्बर्टो एनिस नेपालको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार इटालेली एनिसलाई मुख्य प्रशिक्षक बनाएको हो।

गत सेप्टेम्बरमा अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि एन्फा नयाँ मुख्य प्रशिक्षकको खोजीमा थियो। एन्फाका अनुसार नेपाली टिमको जिम्मेवारी लिने इच्छा व्यक्त गर्दै १ सय ६८ जनाले आवेदन दिएका थिए। तीमध्ये २० जना अन्तिम सूचीमा परे र आखिरमा एनिस छानिए।

युरोपेली फुटबल महासंघ (यूईएफए) बाट प्रो–लाइसेन्स लिएका एनिस पछिल्लो समय भारतीय घरेलु फुटबलको शीर्ष श्रेणीको लिगमा थिए। गुवाहटीको नर्थइस्ट युनाइटेडलाई इन्डियन सुपर लिग (आईएसएल)मा केही महिना प्रशिक्षण दिएपछि उनी नेपाल आएका हुन्।

त्यसअघि एनिस भारतकै दोस्रो श्रेणीको लिग आई–लिगमा दुई सिजन व्यस्त रहे। गोकुलम केरला एफसीलाई लगातार दुई पटक च्याम्पियन बनाए। भारतमा यसअघि कुनै प्रशिक्षकले एउटा क्लबलाई लगातार दुईपल्ट लिग विजेता बनाउन सकेका थिएनन्।

एनिस नेतृत्वमा गोकुलम असाध्यै बलियो टिमका रुपमा रह्यो। यसको प्रमाण हो, सन् २०२१/२२ मा लिग जित्दा जम्मा एक खेलमा मात्र पराजय भोग्नु। गोकुलम एक समय लगातार २१ खेलमा अपराजित थियो। आई–लिगमा यो आफैँमा कीर्तिमान हो।

लक्ष्यः सिरी ए
एनिस इटालेली शीर्ष श्रेणीको लिग सिरी ‘ए’ खेल्न चाहन्थे। तर उनको खेल करियर स्थानीय क्लबबाट उकालो लागेन। त्यसपछि उनी विश्वविद्यालय गए, ‘फिजिकल एजुकेसन’ पढे। युरोपेली फुटबल महासंघ (यूईएफए) को प्रो–लाइसेन्स लिए। अनि प्रशिक्षण करियरमा होमिए।

इटालेली नागरिक एनिस कुनै दिन आफ्नो देशको शीर्ष श्रेणीको क्लबमा प्रशिक्षक बन्न चाहन्छन्। ‘सिरी ए खेल्ने सपना थियो। पूरा भएन। अबको सपना त्यहाँ प्रशिक्षक बन्न हो,’ एनिस ले गत वर्ष एक इटालेली वेबसाइटसँगको अन्तरवार्तामा भनेका थिए, ‘तर यो सपना पूरा गर्न सजिलो छैन। किनभने इटालेली फुटबलमा मौका पाउन नाम चलेको पूर्व खेलाडी हुनुपर्छ। म अब विदेशी भूमिमा सफल भएर इटाली फर्कन चाहन्छु। अनि सिरी एमा प्रशिक्षक बन्नेछु।’

एनिसले विदेशी भूमिमा चाहेको सफलता कुन स्तरको हो, प्रस्ट छैन। तर उनले दक्षिण एसियाली फुटबलमा चाहिँ आफूलाई स्थापित गराइसकेका छन्।

एनिससँग विकल्प थियो, केरलाको फुटबलमा अझ केहीसमय रमाउने। तर उनले नयाँ चुनौतीको सामना गर्न चाहे। ‘गोकुलमबाट जित्नुपर्ने सबै उपाधि जितेको छु। अब भारतीय फुटबलमा एउटा उपाधि जित्न बाँकी छ, त्यो हो आईएसएल। त्यसले स्वाभाविक रुपमा मलाई आकर्षित गर्छ,’ गोकुलम छाड्दा एनिसले भनेका थिए।

मे, २०२२ मा गोकुलम छाड्दा उनमा विश्वास थियो, आईएसएलको कुनै क्लबले प्रशिक्षक बनाउँला भन्ने। केही क्लबमा उनले अन्तरवार्ता पनि दिए। तर मौका पाएनन्।

आखिरमा उनलाई नर्थइस्ट युनाइटेडबाट प्रस्ताव आयो। यो क्लबले यस्तो बेला एनिसलाई प्रशिक्षक बनाउन चाह्यो, जतिबेला उ अंक तालिकाको पुछारमा थियो। लगातार आठ खेलमा पराजय भोगेको थियो।

उसो त एनिसले पनि नर्थइस्टको उद्धार गर्न सकेनन्। उनको प्रशिक्षणमा नर्थइस्टले १२ खेल्यो। जसमध्ये एकमा जित, दुईमा बराबरीको नतिजा हात पार्‍यो। रेलिगेसनको व्यवस्था नभएको आईएसएलमा नर्थइस्ट लिगको पुछार (११ औँ स्थान) मा रह्यो।

सुरुवात
प्रशासनिक रुपमा इटाली २० क्षेत्रमा विभाजित छ। ३८ वर्षीय एनिस इटालीको एपुलिया क्षेत्रका हुन्। जहाँबाट एक मात्र क्लब सिरी ‘ए’ मा छ। त्यो हो, लेसे। दुर्भाग्यवश एनिस लेसेबाट खेल्न पाएनन्। बरु उनी किशोर उमेरमा भेनेजियाको युवा टिममा थिए।

भेनेजिया हाल सिरी ‘बी’ मा छ। तर एनिस आबद्ध हुँदा भेनेजिया सिरी ‘ए’ मै थियो। यद्यपि एनिसले सिनियर टिममा खेल्न पाएनन्। त्यसपछि उत्तरपश्चिमको भेनिसबाट एनिस दक्षिणी इटाली नै फर्किए। जहाँ उनले मार्टिना फ्रान्का, नोइकाटारो र लियोनेसा अल्टामुराबाट खेले।

अर्धव्यवसायिकक करियर चाँडै सिध्याएका एनिस युनिभिसर्टी अफ भेरोना र युनिभर्सिटी अफ फोजियाबाट फिजिकल एजुकेसन पढे। सन् २००८ देखि २०१३ सम्म विश्वविद्यालयमा पढाए पनि। अध्यापन आफ्नो ‘प्लान बी’ रहेको उनले बताउने गरेका छन्।

सन् २०१६ मा यूईएफए प्रो–लाइसेन्स लिएपछि भने उनी पूर्णरुपमा प्रशिक्षणमा लागे। सन् २०१०-२०१२ सम्म तेस्रो श्रेणीको लिग सिरी ‘सी’ मा व्यस्त एनिस सन् २०१३ मा फोगिया एफसीमा ‘फिटनेस कोच’ बने।

एनिसका लागि लाट्भियाको साल्डुस एफके इटालीबाहिरको पहिलो क्लब बन्यो। एक वर्ष त्यहाँ रहेपछि उनी सन् २०१५ मा सहायक प्रशिक्षक बन्न इस्टोनियन प्रिमियर लिगको पाइडे लिन्नामिस्कोन्ड एफकेसँग आबद्ध भए। त्यसपछि उनलाई अर्मेनियाले अन्डर–१९ टिमको प्रशिक्षक बनायो। त्यस जिम्मेवारीमा उनी ६ महिना रहे।

पश्चिम युरोपमा केही वर्ष बिताएपछि एनिस अफ्रिकी फुटबलको स्वाद चाख्न घाना पुगे। घाना प्रिमियर लिगको बेछेम युनाइटेडमा एक सिजन बिताएर उनी प्यालेस्टाइनतिर लागे। सन् २०१७/१८ सिजन अल अह्ली हेब्रोनमा रहेपछि एनिस इन्डोनेसियाको पीएसआईएस सेमेराङसँग आबद्ध भए।

इन्डोनेसियामा एक वर्ष रहेपछि एनिस युरोप फर्किए। कोसोभो प्रिमियर लिगमा लिरिया एफकेलाई एक वर्ष प्रशिक्षण दिएपछि एनिस मध्यअमेरिकी देश बेलिजको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बने।

भारतीय अनुभव

एनिसले भारतीय सञ्चारमाध्यमहरुसँगको अन्तरवार्तामा भन्ने गरेका दुई रोचक कुरा छन्। पहिलो, प्रत्येक देशमा एक वर्षभन्दा बढी नबस्ने। दोस्रो, जसरी हुन्छ ‘सीभी’ बलियो बनाउने। भारतमा एनिस एक वर्षभन्दा बढी समय रहे। दुई पटक आई–लिग जितेपछि ‘सीभी’ बलियो बन्यो नै।

इटालेली फुटबल रक्षात्मक खेलका लागि विश्वभर प्रसिद्ध छ। एन्टोनियो कोन्टे जस्ता नयाँ पुस्ताका प्रशिक्षकले इटालेली शैलीलाई थप परिस्कृत बनाएका छन्। कोन्टे र एनिसबीच कम्तीमा एउटा समानता छ। दुवै युनिभर्सिटी अफ फोजियाका पूर्वविद्यार्थी हुन्। खेल शैलीमा भने केही भिन्नता देखिन्छ। कोन्टे तीन ‘सेन्ट्रल डिफेन्डर’ को उपयोग गर्छन् भने एनिस आक्रामक ४-३-३।

जति समय भारतमा रहे, एनिस त्यहाँको सञ्चारमाध्यममा छाइरहे। आफूलाई मन लागेको विषयमा धक नमानी बोल्ने एनिसले समग्र भारतीय फुटबलकै विषयमा आफ्नो राय राखिरहे। कतिसम्म भने उनले भारतीय राष्ट्रिय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमचले दिएको अभिव्यक्तिको पनि विरोध गरे।

स्टिमचले आई-लिग र त्यहाँ खेल्ने खेलाडीको स्तरबारे टिप्पणी गरेका थिए। त्यसमा एनिसको जवाफ थियो, ‘आई–लिग र आईएसएलमा खेल्ने भारतीय खेलाडीको स्तर उस्तै हो। आईएसएलमा विदेशी खेलाडी चाहिँ माथिल्लो स्तरका छन्।’

स्टिमचले राष्ट्रिय टिममा आई–लिग खेल्ने खेलाडीलाई नजरन्दाज गर्ने गरेको आरोप पनि लगाइरहे, एनिसले।

भारतका दुवै लिगमा विदेशीभन्दा स्थानीय खेलाडीलाई बढी मौका दिनुपर्ने एनिसको सुझाव थियो। आईएसएलका विदेशी प्रशिक्षकहरुले भारतीय युवा खेलाडीको वृत्ति विकासमा सहयोग गर्न छाडेर खाली महँगा विदेशी खेलाडी अनुबन्ध गरिरहेको आरोप पनि उनले लगाएका थिए।

युवा खेलाडीबारे उनको विचार रोचक छ। ‘रणनीतिक ज्ञान नहुनु युवा खेलाडीको सबैभन्दा राम्रो पक्ष हो। कसैले यसमा असहमति राख्न सक्छन्। उनीहरुलाई रणनीतिक ज्ञान नभएका युवा खेलाडी ठिक नलाग्न सक्छन्। तर सत्य के हो भने यस्ता युवा खेलाडीलाई आफ्नो दर्शनमा ढाल्न सजिलो हुन्छ। उनीहरू अनुभवी खेलाडीभन्दा बढी प्रतिबद्ध, जोसिला, बलिष्ठ, हुन्छन्। उनीहरूमा केही गरौँ भन्ने भावना हुन्छ,’ टाइम्स अफ इन्डियासँग एनिस ले भनेका छन्।

एनिसले भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने चाहना राखेको खबर पनि आएका थिए। उनको त्यो इच्छा पूरा भएन। राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने इच्छा यथावत राखेकै कारण उनी नेपाल आइपुगेका हुन्।

आधुनिक फुटबलका विद्यार्थी एनिस आक्रामक फुटबल मन पराउँछन्। उनलाई खेलाडी पनि आक्रामक नै मनपर्छ। खेलाडीको स्वाभाव ‘एग्रसिभ’ भएन र प्रशिक्षकले ‘रिस्क’ लिएन भने विपक्षी टिमसँग अंक खोस्न गाह्रो हुने उनको ठम्याई छ।

‘विपक्षीको क्षेत्रमा स्पेस बनाउने र आक्रमण बुनिहाल्ने, हामीले गर्नुपर्ने यही हो। मलाई खेलाडी सफ्ट भएको मन पर्दैन। खेलाडीको त्यस्तो स्वाभावले विपक्षीलाई फाइदा पुर्‍याउँछ। हामीले विपक्षीलाई गल्ती गर्न बाध्य बनाएनौँ भने अंक खोस्न गाह्रो हुन्छ। मलाई रिस्क लिन मन लाग्छ, आक्रमण गर्न मनलाग्छ, सबै खेल जित्न मनलाग्छ,’ एनिसले टाइम्स अफ इन्डियासँग भनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =