पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर

हिमाल प्रेस २६ माघ २०७९ ७:१९
10
SHARES
पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर

झापा- विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ।

शिक्षासेवी जयनारायण ढुंगानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड पार्कमा एक करोड रुपैयाँ लगानीमा भ्यूटावर बनाएका छन्। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताए।

चार दशकअघि जिल्लाकै पहिलो कनकाई अंग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेको शिक्षासेवी ढुंगाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुटेका छन्। सो पार्कमा लिची, आँप, अम्बालगायतका विभिन्न प्रजातिका फलफूलका बोट हुर्किएका छन्। घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन्।

ढुंगानाले विगत छ वर्षेदेखि पार्क निर्माण सुरु गरेका छन्। ‘मलाई पार्कमा पर्यटकको घुइँचो लगाएर पैसा कमाउला भन्ने छैन’, उनले भने, ‘समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले ग्रीन पार्कको परिकल्पना गरेको हुँ।’

उनले पार्कभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ। जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ। टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको उनले बताए।

पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ। तर आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेको उनले बताए। पार्कमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ। ‘आफूसँग भएको नगद र बैंकबाट ऋणस्वरुप लिएको करिब तीन करोड रुपैयाँ खर्च भइसक्यो’, उनले भने, ‘अझै कति खर्च हुन्छ, लेखाजोखा छैन।’

सञ्चालक ढुंगानाले पार्कमा स्विमिङ पुल, रिसोर्ट, फुटसलसमेत बनाउने तयारी रहेको जानकारी दिए। पार्कमा प्रत्येक वर्ष ‘लिची फेस्टिबल’ गरिँदै आएको छ। लिचीको बोटमा आफूखुसी टिपेर ताजा फल खान फेस्टिबलमा टाढादेखि पर्यटक आउने गर्छन्।

फेस्टिबलमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले १०० रुपैयाँ तिरेर आफैँ बोटमा टिपेर पेटभरि लिची खान पाइने व्यवस्था गरिएको हुन्छ। अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि सुरु गरेको उनले बताए।

उनका अनुसार बगानमा यतिबेला बम्बई, मुजफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन्।

प्रकाशित: २६ माघ २०७९ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =