काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
सिंहदरबारमा शुक्रबार उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए।
छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाका अनुसार प्रधानमन्त्री शाहले निजी क्षेत्रका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले नेपालमा लगानीको प्राथमिकतामा स्वदेशी व्यवसायीलाई पहिलो, गैरआवासीय नेपालीलाई दोस्रो र बाह्य विदेशी लगानीलाई तेस्रो प्राथमिकतामा राख्ने धारणा व्यक्त गरेका थिए।
छलफलमा व्यवसायीहरूले नेपाली व्यवसायी ठूला पूर्वाधार निर्माणका लागि सक्षम रहेकाले त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। अर्थतन्त्रमा निजी क्षेत्रको करिब ८० प्रतिशत योगदान रहेकाले व्यवसायीको मनोबल उच्च राख्न राज्यले अनुकूल वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ थियो।
व्यवसायीहरूले आरोप लाग्नेबित्तिकै पक्राउ गर्ने र थुन्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको गुनासो पनि गरेका थिए। उनीहरूले लगानीको वातावरण सुधारसँगै निजी क्षेत्रमैत्री कानुनी व्यवस्था आवश्यक रहेको बताएका थिए।
निजी क्षेत्रका समस्या, कानुन संशोधन र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयले प्रत्येक तीन–तीन महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारीसमेत बनेको सांसद राणाले बताइन्।
छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललगायत सहभागी थिए।


