सिंहदरबारमा शुक्रबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक। तस्बिर : रासस
काठमाडौँ- महामारी तथा सम्भावित रोगको प्रकोप नियन्त्रणका लागि सरकारले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा सातवटा स्वास्थ्य टोली परिचालन गरेको छ। झाडापखाला तथा हैजाको जोखिमलाई दृष्टिगत गर्दै नुवाकोटमा ८० हजार ५ सय २३ र रसुवामा २१ हजार ६ सय डोज गरी एक लाखभन्दा बढी डोज पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले महामारी तथा सम्भावित रोगको प्रकोप नियन्त्रणका लागि सातवटा स्वास्थ्य टोली परिचालन गरिएको जानकारी दिएका हुन्।
यसैबीच समितिले बाढी तथा प्रकोप प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य सेवाका लागि घुम्ती स्वास्थ्य टोली परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।
होल्डिङ सेन्टरमा रहेका जोखिम समूहका व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षण, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीलाई समयमै स्वास्थ्य संस्थामा रेफर र फलोअपको व्यवस्था सुनिश्चित गर्न समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले सम्भावित महामारी तथा प्रकोपलाई मध्यनजर गर्दै होल्डिङ सेन्टरमा जीवनजल, व्यक्तिगत सुरक्षा उपकरण, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भण्डारण गर्न पनि निर्देशन दिएको छ।
स्वच्छ खानेपानी, हात धुने व्यवस्था, पोषिलो भोजन, पर्याप्त शौचालय तथा उचित फोहोर व्यवस्थापन सुनिश्चित गर्न जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्यकर्मी परिचालन गरी नियमित अनुगमन गर्न पनि समितिले भनेको छ।
समिति सभापति ओजस्वी शेरचनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको द्रुत चेतावनी प्रणालीमार्फत नियमित निगरानी र शीघ्र रिपोर्टिङ गर्ने तथा र्यापिड रेस्पोन्स टिम परिचालन गरी सम्भावित महामारी तथा रोगको तत्काल पहिचान र नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ।
बाढीबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाको सेवा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्दै प्राथमिकताका आधारमा समयबद्ध पुनर्निर्माण अघि बढाउन पनि समितिले निर्देशन दिएको छ।
मृतकको सम्मानजनक व्यवस्थापन, पहिचान हुन नसकेका शवको वैज्ञानिक अभिलेखीकरण तथा डीएनए परीक्षण गरी परिवारलाई समयमै शव हस्तान्तरण गर्न प्रहरी, विधि विज्ञान प्रयोगशाला र स्वास्थ्य मन्त्रालयबीच प्रभावकारी समन्वय गर्न पनि समितिले भनेको छ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले विभिन्न देश, ग्लोबल पार्टनर, निजी फार्मेसी, गैरसरकारी संस्था तथा सरकारी अस्पतालबाट प्राप्त सहयोग परिचालन गरिरहेको पनि सचिव देवकोटाले जानकारी दिए।


