जसपा नेपालले भन्यो-काफ्लेलाई पदमुक्त गर्ने निर्णय असंवैधानिक र गैरकानुनी

हिमाल प्रेस २५ भदौ २०८३ १५:०५ | Thursday, September 10, 2026
जसपा नेपालले भन्यो-काफ्लेलाई पदमुक्त गर्ने निर्णय असंवैधानिक र गैरकानुनी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनीकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई गैरकानुनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरित सभामुखले पदमुक्त गरेको आरोप लगाएको छ।

प्रदेशसभा सदस्य काफ्लेलाई किर्ते तथा नक्कली कागजातलाई आधार बनाइ दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको जसपा नेपालले जनाएको हो।

भदौ १६–१८ गतेसम्म काठमाडौँमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको नमानेको भन्दै प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डे, आदेशकुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा वेल्वासे (केसी) लाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो। पार्टी निर्देशनविपरित उनीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका थिए।

काफ्लेमाथि भने कारबाही भएको थिएन। मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको भन्दै प्रदेश संसदीय दलको सिफारिसमा काफ्लेलाई पार्टीलाई कारबाही गरेको पत्रका आधारमा सभामुखले बुधबार दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको हो।

जसपा नेपालका महासचिव डा.सुरेन्द्र झा पार्टीको नाममा सहसचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्रलाई आधार बनाइएको र उक्तपत्रमा प्रयोग भएको लेटरपयाड तथा छापसमेत नक्कली रहेको जनाएका छन्।

अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको बताउँदै उनले उनको नामबाट प्रस्तुत पत्रलाई जसपा नेपालको केन्द्रीय समितिको निर्णयमा स्वीकार गरी निर्णय गर्नु आपत्तिजनक र गैरकानुनी उल्लेख गरे।

महासचिव झाले सत्ता जोगाउने राजनीतिक स्वार्थका लागि किर्ते कागजातको प्रयोग, गैरकानुनी प्रक्रिया र राज्यका संवैधानिक तथा संसदीय निकायको दुरुपयोग हुनु लोकतान्त्रिक व्यवस्था, विधिको शासन र स्वच्छ राजनीतिक प्रतिस्पर्धामाथिको गम्भीर प्रहार रहेको बताए। उनले यो कार्यमा संलग्न जोकोही भए पनि कानुनको दायरमा ल्याउन माग गरेका छन्।

जसपा नेपालले लुम्बिनी प्रदेशसभा सचिवालयको यो निर्णय तत्काल सच्याउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा किर्ते कागजात तयार गर्ने, प्रयोग गर्ने र त्यसका आधारमा निर्णय प्रक्रियामा संलग्न हुने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउन ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २५ भदौ २०८३ १५:०५ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast