काठमाडौँ- प्रतिनिधिसभा बैठक संसद् भवन सिंहदरबारमा बसेको छ। बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्।
लामिछानेले विपद्को समयमा उद्धार, राहत र पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, निजामती कर्मचारीदेखि स्वास्थ्यकर्मी, सञ्चारकर्मी र आमनागरिकसम्म सबैप्रति सम्मान व्यक्त गरेका छन्।
लामिछानेले विपद्को कठिन परिस्थितिमा अग्रपङ्क्तिमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको प्रशंसा गरे। उनले विपद्को समयमा आफ्नो नियमित जिम्मेवारीभन्दा माथि उठेर काम गरेका निजामती कर्मचारीप्रति पनि सम्मान व्यक्त गरे।
त्यसैगरी उद्धार तथा राहत कार्यमा संलग्न हवाईकर्मी, चिकित्सक, नर्स, स्वास्थ्य स्वयंसेवक, निजी क्षेत्र, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली, विभिन्न संघसंस्था तथा आमनागरिकप्रति लामिछानेले धन्यवाद व्यक्त गरे।
उनले विपद्को पीडामा नेपाल एक्लो नरहेको सन्देश दिएकोमा मित्र मुलुकहरूप्रति पनि आभार व्यक्त गरे। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताले विपद्मा परेका नेपालीलाई ठूलो हौसला दिएको उनको भनाइ थियो।
लामिछानेले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेको संकटतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु न्यायका लागि मित्र राष्ट्रहरूको थप योगदान आवश्यक रहेको बताए।


