बाढी प्रभावित विद्यालयमा आवासीय र बस सुविधासहितको संरचना बनाउन सुझाव

हिमाल प्रेस २४ भदौ २०८३ १२:३० | Wednesday, September 9, 2026
बाढी प्रभावित विद्यालयमा आवासीय र बस सुविधासहितको संरचना बनाउन सुझाव

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह (नेपाल एजुकेशन क्लस्टर) का प्रतिनिधिसँग छलफल गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइ निरन्तरता, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन पुनःनिर्माणका विषयमा छलफल भएको हो।

छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका साथै विद्यार्थीको अध्ययन निरन्तरताका लागि सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए।

उनीहरूले प्रभावित बालबालिकाको शिक्षा तथा बसोबास व्यवस्थापनमा सहयोग गर्ने बताए। तत्कालीन र दीर्घकालीन सहयोगका लागि आवश्यक स्रोत व्यवस्थापनमा समेत आफूहरू जुटिरहेको उनीहरूले जानकारी दिए।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले विपद्का समयमा एजुकेशन क्लस्टरका प्रतिनिधिबाट भएको प्रयासका लागि धन्यवाद दिँदै शिक्षा मन्त्रालय एक्लै नभएको र पुनःस्थापनाका लागि सामूहिक प्रयास भइरहेको बताए।

उनले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालय पुनःनिर्माण गर्दा आवासीय सुविधा र विद्यालय बस सुविधासहितका ‘ठूला विद्यालय’को अवधारणाअनुसार अघि बढ्न सकिने धारणा राखे।

विपद्पछि विद्यालय तथा विद्यार्थीको दीर्घकालीन व्यवस्थापनका लागि यस्तो अवधारणा उपयोगी हुन सक्ने उनको भनाइ थियो।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विपद्का समयमा अन्य देशले समुदायको पुनःस्थापनाका लागि अपनाएका अभ्यास र अनुभव अध्ययन गर्न क्लस्टरका प्रतिनिधिलाई आग्रह गरे। त्यस्ता अनुभवले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीचन्द्र भट्टराईले विकास साझेदारबाट प्राप्त हुने सहयोगमा दोहोरोपन नआउने गरी सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालले प्रस्तुत गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीबाट २५१ विद्यार्थी तथा शिक्षक प्रभावित भएका छन्। विवरणअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन्। त्यस्तै, १७ विद्यार्थी र एक शिक्षकलाई बाढीले बगाएको तथा एक विद्यार्थीको अवस्था खुल्न नसकेको जनाइएको छ।

बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षक रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थासँग सम्बन्धित रहेको विभागले जनाएको छ।

बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवनलगायत अन्य भौतिक संरचनामा समेत पूर्ण तथा आंशिक क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार केही विद्यालयमा पूर्ण क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ। जिल्लागत रूपमा कुन विद्यालयमा कति क्षति पुगेको भन्ने विस्तृत विवरण भने संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ।

मन्त्रालयले क्षतिको यकिन विवरण संकलनपछि प्रभावित विद्यालय, विद्यार्थी तथा शिक्षकका लागि राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ।

प्रकाशित: २४ भदौ २०८३ १२:३० | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast