काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग तथा पुनःस्थापना र पुनरुत्थानका प्रयासमा सघाउन जर्मनीले नेपाललाई एक अर्ब ४० करोड रुपैयाँ (८० लाख युरो) बराबरको सहयोग उपलब्ध गराउने भएको छ।
जर्मनीले तत्कालीन मानवीय आवश्यकता सम्बोधनसँगै विपद्को दीर्घकालीन प्रभाव न्यूनीकरणका लागि मानवीय सहायता, विकास सहयोग तथा युरोपेली संघ र बहुपक्षीय संयन्त्रमार्फत सहयोग उपलब्ध गराउने काठमाडौँस्थित जर्मन दूतावासले मंगलबार विज्ञप्तिमार्फत जनाएको हो।
जर्मनीले पाँच लाख युरोभन्दा बढी मूल्य बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको छ। नेपाल सरकारको अनुरोधमा युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमर्फत ती सामग्री नेपाल पठाइएको हो। ती सामग्रीमा भान्साका सामग्री, त्रिपाल, झुल, खानेपानी आपूर्तिका उपकरण तथा शिविरमा प्रयोग हुने खाटलगायत छन्।
यी राहत सामग्री जर्मन परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित जर्मन संघीय प्राविधिक राहत एजेन्सी (टीएचडब्ल्यू), जर्मन लाइफ सेभिङ एसोसिएसन (डीएलआरजी) तथा जर्मनीको थुरिन्जिया राज्यले उपलब्ध गराएका हुन्।
जर्मनीले तत्कालीन मानवीय आवश्यकता सम्बोधनका लागि दुईवटा नागरिक समाज संस्थामार्फत थप दुई लाख युरो प्रत्यक्ष सहयोग उपलब्ध गराउने भएको छ।
त्यसमध्ये एउटा परियोजनाले विपद्बाट प्रभावित गर्भवती महिला, सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य र कल्याणमा केन्द्रित भएर काम गर्नेछ। परियोजनाअन्तर्गत आपत्कालीन सामग्री उपलब्ध गराउने, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच कायम राख्ने तथा संक्रमण रोकथामका उपायलाई सुदृढ गर्ने काम हुनेछ।
दोस्रो परियोजना युरोपेली संघको मानवीय सहायता कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ। युरोपेली नागरिक सुरक्षा तथा मानवीय सहायता सञ्चालनसम्बन्धी महानिर्देशनालय (डीजी इको) मार्फत सञ्चालन हुने उक्त परियोजनाले विपद्बाट प्रभावित परिवारका लागि आयआर्जनका अवसर सिर्जना गर्न, पूर्वाधार पुनःस्थापनामा सहयोग गर्न तथा विस्थापितहरूका शिविरको अवस्था सुधार गर्न सघाउनेछ।
विपद्को प्रभाव तत्कालीन उद्धार र राहतमा मात्र सीमित नरहने भन्दै जर्मनीले विकास सहकार्यअन्तर्गत थप ७५ लाख युरोभन्दा बढी अर्थात् ७.३५ मिलियन युरो परिचालन गरेको छ।
यो रकम जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालयले उपलब्ध गराउनेछ भने जर्मनीको अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी संघीय संस्था जीआईजेडले कार्यक्रम कार्यान्वयन गर्नेछ।
नेपाल सरकारसँगको लामो समयदेखिको सहकार्यलाई आधार बनाउँदै जीआईजेडले स्वास्थ्य र ऊर्जा क्षेत्रमा सहयोग गर्नेछ। अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा खानेपानी आपूर्तिमा पहुँच कायम राख्न सहयोग गर्ने जर्मनीको योजना छ।
त्यसैगरी जलवायु तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई सुदृढ गर्न र भविष्यमा आउन सक्ने प्राकृतिक विपद्प्रति नेपालको उत्थानशीलता बढाउने दीर्घकालीन प्रयासमा समेत जर्मनीले सहयोग गर्ने जनाएको छ।
जर्मनी संयुक्त राष्ट्रसंघीय केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (सीईआरएफ) तथा युरोपेली संघको प्रमुख सहयोगदाता मुलुकमध्ये एक हो।
भोटेकोशी बाढीपछि सीईआरएफले मानवीय सहायताका लागि २५ लाख अमेरिकी डलर परिचालन गरेको छ भने युरोपेली संघले २५ लाख युरो सहयोग परिचालन गरेको छ।
जर्मनीले नेपालमा यसअघि नै राहत तथा मानवीय सहयोगमा सक्रिय जर्मन नागरिक समाज संस्थाहरूको योगदानको समेत उच्च मूल्यांकन गरेको छ।
जर्मनीमा नेपालसँग गहिरो सम्बन्ध राख्ने हजारौँ नागरिकले गरेको आर्थिक सहयोगबाट समेत ती संस्थाहरूले नेपालमा विपद् प्रभावित क्षेत्रमा सहायता पुर्याइरहेका छन्।
जर्मनी र नेपालका जनताबीचको सम्बन्ध विविध र लामो समयदेखि गहिरो रहेको जनाउँदै जर्मनीले स्थानीयकरणको सिद्धान्तअनुसार आफ्ना नागरिक समाज संस्थाहरूले स्थानीय साझेदार र नेपाल सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ।
यसबाट आवश्यकतामा रहेका समुदायसम्म सहायता प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने जर्मनीको विश्वास छ।


