बाँके- भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना संकलन सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिए।
सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डिएनए नमूना दिन सक्नेछन्।
बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमूना संकलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुने नमूना संकलन बिहान ९:०० देखि साँझ ५:०० बजेसम्म हुने सूचनामा उल्लेख छ। नमूना संकलनमा जिल्ला अस्पतालले पनि सहयोग गर्नेछ।
प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डिएनए नमूना संकलन हुने उल्लेख गर्दै प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमूना दिन आग्रह गरेको बताए।
नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
प्रहरी उपरीक्षक पौडेलले जिल्लामा अहिलेसम्म ७४ जना सम्पर्कविहीन रहेको बताए।
यस्तै, नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको दान रकम बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।
मन्दिरका दुवै दानपेटी खोल्दा संकलन भएको कुल रु ३७ हजार ८०८ सम्पूर्ण रकम रसुवाका विपद् पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालले जानकारी दिए।


