चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीस्थित राष्ट्रिय राजमार्ग जी–२१६ हुँदै भारी मेसिनरी ग्यिरोङ बन्दरगाहको मुख्य विपद् प्रभावित क्षेत्रमा प्रवेश गर्दै। तस्बिर साभार : ग्लोबल टाइम्स
काठमाडौँ- तिब्बतमा हिन्दू तीर्थयात्रा सकेर फर्किरहेकी भारतीय मूलकी फिनिस नागरिक प्रियंका चौधरी नेपालसँगको सीमा नाकामा पुगेकी थिइन्, त्यही बेला विनाशकारी पहिरो आयो।
उनी विपत्तिको १० दिनपछि पनि तिब्बतमा बेपत्ता रहेका दुई सय ६१ जना विदेशी नागरिकमध्ये एक हुन्। प्रियंकाका परिवारजन तथा बेपत्ता आफन्तको खोजीमा रहेका अन्य परिवारले चिनियाँ अधिकारीको प्रतिक्रियाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्।
‘चीनतर्फबाट कुनै जानकारी आएको छैन’, प्रियंकाका भाइ तरुणले रोयटर्ससँग भने, ‘हामी चीन जान सक्दैनौँ र त्यहाँ कसैसँग कुरा गर्न पनि सक्दैनौँ। त्यसैले त्यहाँ अवस्था कस्तो छ भन्ने बुझ्न सकिरहेको छैन। घटनास्थलमा अहिले के भइरहेको छ, त्यहाँको अवस्था कस्तो छ भन्नेबारे चीनबाट कुनै जानकारी आएको छैन।’
गत साता तिब्बत–नेपाल सीमाक्षेत्रमा आएको विनाशकारी पहिरो र बाढीमा दुवैतर्फ गरी १३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने ५६ सयभन्दा बढी बेपत्ता छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबारसम्म तिब्बतमा कम्तीमा ३१ जनाको मृत्यु पुष्टि भएको छ भने कुल पाँच सय ३१ जना बेपत्ता छन्।
बेपत्ता व्यक्तिका केही परिवारले चीनमा सूचनामाथि रोक लगाइएको आरोप लगाएका छन्, जसले उनीहरूको पीडा थप बढाएको छ।
‘मेरी बहिनी सुरक्षित छिन् कि जीवित छिन् वा मृत्यु भइसकेको छ भन्नेबारे चीनबाट हामीले कुनै जानकारी पाएका छैनौँ’, ५१ वर्षीया बेलायती नागरिक नीतु गोयल तिवारीका भाइ नरेश गोयलले भने।
गोयलका अनुसार केही दिनअघि बेलायत प्रहरीले उनकी बहिनीको घरमा पुगेर उनकी छोरीको डीएनए नमुना संकलन गरेको थियो, जुन चिनियाँ अधिकारीलाई उपलब्ध गराउने उद्देश्यले लिइएको थियो।
चीनको परराष्ट्र मन्त्रालयले बेपत्ता व्यक्तिको पहिचान गर्ने समयसीमा, डीएनए संकलनको प्रक्रिया तथा परिवारहरूले लगाएको सूचनाको अभावसम्बन्धी आरोपबारे प्रतिक्रियाको तत्काल जवाफ नदिएको रोयटर्सले उल्लेख गरेको छ।
चीनले भने २३ देशका दूतावासका प्रतिनिधिलाई घटनाबारे नियमित जानकारी दिइरहेको बताउँदै आएको छ। सोमबार उसले बाढीसम्बन्धी सूचना प्रवाह पारदर्शी र समयमै गरिएको दाबी गरेको थियो।
बेइजिङले मृतकको पहिचान गर्न अन्य देश र निकायसँग सहकार्य गर्न तयार रहेको पनि बताएको छ। उसले विपत्तिको सबैभन्दा ठूलो असर परेको नेपालमा डीएनए पहिचानसम्बन्धी विज्ञहरूको टोलीसमेत पठाएको छ।
नेपालमा भने प्रहरीलगायत सरकारी निकायले बेपत्ता तथा मृतकहरूको विवरण सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गरिरहेका छन्। खोज तथा उद्धार अभियानसँगै डीएनए परीक्षणको काम पनि सक्रिय रूपमा भइरहेको छ।
नेपालमा आफ्ना नागरिक बेपत्ता भएको जानकारी दिएका देशका कूटनीतिज्ञहरूलाई चीनले गत साता बेइजिङमा बोलाएर घटनाबारे जानकारी दिएको थियो। उक्त ब्रिफिङमा सहभागी कूटनीतिज्ञहरूका अनुसार चीनले पीडितहरूको डीएनए पहिचान कसरी अघि बढाउने भन्नेबारे कुनै विस्तृत जानकारी दिएको थिएन।
यसका अतिरिक्त चीनले आफ्नोतर्फको सीमा नाकाबाट खिचिएका भिडियो तथा अनुहार पहिचान गर्न सकिने तस्बिरसमेत उपलब्ध गराउन प्रस्ताव गरेको छैन। चिनियाँ परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहेका कूटनीतिज्ञहरूले यस्तो सामग्री परिवारलाई उपलब्ध गराउन वा मृतकको पहिचानमा प्रयोग गर्न सकिने बताएका छन्।


