काठमाडौँ- त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ-हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ।
वर्षाको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदीको रुट कायम गरिएको छ।
त्यस्तै, हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्।
यसैगरी, ठूला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ-भट्टेडाँडा-ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन्। उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६ः०० बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैँसे-पालुङ-टिस्टुङ-नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।
मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्यांकर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए।


