तातोपानी भन्सार। फाइल तस्बिर
काठमाडौँ- चीनसँगको तातोपानी नाका अस्थायी रूपमा बन्द भएको छ।
चीनले दिएको सूचनाको आधारमा तातोपानी नाका अस्थायी रूपमा बन्द भएको हो। यो नाकाबाट भदौ दोस्रो साताबाट आयात सञ्चालन भएको छैन।
तातोपानी भन्सार प्रमुख दीपेन्द्रप्रकाश गिरीले चिनियाँ पक्षले अस्थायी रूपमा नाका बन्द गरेको जानकारी दिए। रसुवाको बाढी जस्तै तातोपानी नाकामा पनि भोटेकोशीमा बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाका बन्द गरेको हुन सक्ने उनको भनाइ छ।
गिरीका अनुसार चिनियाँ अधिकारीहरूले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी भन्सार कार्य, त्यहाँका कर्मचारी प्रशासनलाई माथि सारेको छ।
चिनियाँ पक्षले कार्गो आवागमन अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे भन्ने बताइएको छैन।
भन्सार कार्यालयका अधिकृत गिरीले चिनियाँ पक्षले खुल्नेबित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिए। आगामी ३ तारेकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले चिनियाँ पक्षले केही दिनअघिदेखि कन्टेर पठाउन रोक्ने निर्णय गरेको उनले बताए। बाढीको विपत्तिमा नाका बन्द गर्ने स्थिति नरहेको उनको भनाइ छ।
नेपालतर्फको सडक साउन १ गतेदेखि बिग्रिएको थियो। सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो। सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि अस्थायी रुपमा सडक सञ्चालन भएको थियो। त्यसपछि पछिल्लोपटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएको थियो।
भन्सार प्रमुख गिरी नेपालतर्फको सडक पूर्वाधारलाई बलियो बनाउन जरूरी रहेको बताउँछन्।


